Home मुख्य समाचार ज्योति माविको स्थापना दिवसः गेम जोन र कम्प्युटर ल्याव उद्घाटन

ज्योति माविको स्थापना दिवसः गेम जोन र कम्प्युटर ल्याव उद्घाटन

स्थापना दिवस समारोहमा सहभागी अतिथिहरु ।

हेटौंडाः हेटौंडा–१८ स्थित ज्योति माविले ५६ औं स्थापना दिवस सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेर मनाएको छ । गत बुधबारबाट सुरु कार्यक्रम हिजो मंगलबारसम्म विभिन्न क्रियाकलाप सञ्चालन गरेर मनाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले जानकारी दिनुभयो ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत अन्तिम दिन मंगलबार सामुदायिक विद्यालय अन्तर्गत गेम जोन र आइटीतर्फ कम्प्युटर ल्यावको उद्घाटन गरिएको अध्यक्ष रम्तेलले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले गेम जोन र कम्प्युटर ल्यावको उद्घाटन गर्नुभयो । एसईईपछिको ३ वर्षे कम्प्युटर डिप्लोमा कोर्ष जिल्लामै पहिलो पटक ज्योति मावि सुरु भएको हो । ज्योति माविमा अहिले १३ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको अध्यक्ष रम्तेलले बताउनुभयो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत राम्रो कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको छ ।

सप्ताहव्यापी कार्यक्रममा नृत्य, लेख कला र विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिएको अध्यक्ष रम्तेलले बताउनुभयो । सामुदायिक विद्यालय अन्तर्गत ज्योति माविले ५२ औं स्थापना दिवसदेखि जिल्लामा अन्य विद्यालयहरुले भन्दा फरक र पहिलो कार्यक्रमहरु गर्दै आएको छ । विद्यालयले ५२ औं स्थापना दिवसमा जिल्लामै पहिलो गणित प्रयोगशाला, ५३ औं स्थापना दिवसमा जिल्लामै पहिलो सोसल ग्यालरी, ५४ औं स्थापना दिवसमा राष्ट्रिय मूर्तिकला कार्यशाला र ५५ औं स्थापना दिवसमा राष्ट्रिय चित्रकला कार्यशाला आयोजना गरिएको उहाँले बताउनुभयो । विद्यालयले केही महिनापछि काठको मूर्ति बनाउने कार्यक्रम आयोजना गर्ने तयारी भएको अध्यक्ष रम्तेलले बताउनुभयो । अन्य विद्यालयको भन्दा भिन्नै कार्यक्रम गर्ने योजना अनुरुप ज्योति माविले विभिन्न फरक–फरक कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा १८ नम्बर वडाध्यक्ष अनिल कुमार बानियाँ, राष्ट्रिय परिक्षा बोर्ड मकवानपुर शाखाका प्रमुख कृष्ण घिमिरे र विद्यालयका प्रधानाध्यापक जयराम थापाको उपस्थिति रहेको थियो ।

Exit mobile version