हेटौंडाः हेटौंडा सामुदायिक आँखा अस्पतालको टोलीले सर्लाही जिल्लाका ४ सय ९ जना मोतिविन्दुका विरामीहरुको निशुल्क शल्यक्रिया गरेको छ । रामनगर गाउँपालिका र स्थानीय श्रीहरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँगको समन्वय तथा दक्षिण कोरीयाको अन ड्रिम प्रोजेक्टको सहयोगमा आँखा शिविरको आयोजना गरिएको हो ।

पुस ५ गतेदेखि निशूल्क आँखा परीक्षणको कार्य सुरु गरेको चिकित्सकको टोलीले मोतिविन्दुको समस्या पहिचान भएका विरामीलाई पुस ७ गतेदेखि नै शल्यक्रिया गर्न सुरु गरेको थियो । पुस ७, ८ र ९ गते तीन दिनमा मोतिविन्दु भएका ४ सय ९ जनाको शल्यक्रिया गरिएको हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।
सर्लाही जिल्लाको अचलगढ, हरकटवा र सिसौट गरी १ हजार २ सय ५० जनाको आँखा परीक्षण गर्दा ४ सय ९ जनामा मोतिविन्दु देखिएको थियो । उनीहरुको हेटौंडा सामुदायिक आँखा अस्पतालका बरिष्ठ नेत्रस्वास्थ्य विशेषज्ञ डा. मोहिनी श्रेष्ठको नेतृत्वमा रहेको टोलीले सिसौटमा शल्यक्रिया गरेको हो । हेटौंडा सामुदायिक आँखा अस्पतालका लागि सहयोगी दाता रहेकाले शिविरको आयोजना गरेर मोतिविन्दुको शल्यक्रिया गरिएको वरिष्ठ प्रशासकीय अधिकृत श्रेष्ठको भनाइ छ ।