खासमा कुरो के हो भने मैले पक्ष लिएर हेरेको टिमले खेल जित्दैन । सन् १९९०, १९९४, १९९८, २००२, २००६, २०१०, २०१४, २०१८ लगायतको विश्वकपको आठ वटा संस्करणमा मेरो पूर्ण समर्थन अर्जेन्टिनालाई रह्यो ।
हामी पनि टोलकपका हिरो थियौं जमानामा । फुटबलको अहिले जस्तो चैते क्रेज होइन । पूर्णतः अर्ग्यानिक क्रेज थियो । वर्ल्डकप हेर्न के–के पो गरेनौं । छतमा एन्टेना । असारको मौसम । अरु के चाहियो । पालैपालो एन्टेना घुमायो । बुस्टर चलायो । म्याराडोना र पेलेको अद्भुत खेलको फुँदा गाँसी–गाँसी कथा सुनाउथे सिनियरहरु । हाम्रो मनमा एउटा जादुगरको छवि नाचिरहन्थ्यो । तर हाम्रो पुस्ताले पेलेलाई कहिल्यै चौरमा देखेन । म्याराडोनाको जादु भने आँशिक देख्न पायौं हामीले ।
एकदिन चौरमा सँगै खेल्ने साथी मनोज श्रेष्ठले अगाडि पट्टी “म्याराडोनाले भनी गोल हानेको” तस्वीर भएको टि–सर्ट लगाएर आयो । सबैले उसलाई म्याराडोनालाई जस्तै घेरे । चौरमा उ हिरो भयो । एउटा यस्तो गन्जी म पनि किन्छु, मैले मनमनै सोचें । म्याराडोना फुटबल बाहेक लागुऔषध र अन्य लफडाहरुमा बारम्बार मुछिईरहन्थे । हामीलाई विश्वास नै लाग्दैनथ्यो । हामी विपक्षीहरुको रणनीति हो, म्याराडोनालाई फसायो भन्थ्यौं । अनि अन्य देशका नेपाली समर्थकहरु अर्जेन्टिना र नेपालको सम्बन्धलाई लिएर अनेक कुरा गर्थे जस्तो कि म्याराडोनाले भनेको “गोर्खालीहरु मान्छेका मासु खाने जात हुन् रे”, “संसारको सबैभन्दा मन नपर्ने मान्छे गोर्खाली हुन् रे” , “अर्जेन्टिनामा नेपालीलाई प्रवेश गर्न दिँदैन रे ।” यति हुँदा पनि म्याराडोना मनपर्न छोडेन । अर्जेन्टिनाप्रति कहिल्यै घृणा जागेन । यो हदसम्मको प्रेम थियो, म्याराडोनाप्रति । हामीलाई खासमा अर्जेन्टिना मनपरेको थिएन । म्याराडोना मन परेको थियो । अनि त्यही म्याराडोनाको देश भएकोले अर्जेन्टिना । एउटा खेल र खेलाडीको कुन हदसम्मको प्रभाव हुन सक्छ भन्ने कुराको यो ज्वलन्त उदाहरण हो । यस्तो अफवाह अझै पनि छँदैछ तर समर्थकहरु घटेका छैनन् । यो फुटबल मोह हो ।
क्लाउडियो क्यानिजिया, एरियल ओर्टेगा, ग्याब्रियल बाटिस्टुटा, जेभियर साभिवला हुँदै लियोनल मेसीसम्म आइपुग्दा कोही न कोही यस्ता भइरहे जसले अर्जेन्टिना बिर्सन दिएनन् । फुटबलका सबै उपाधि एकातिर अनि वर्ल्डकप एकातिर राख्दा पनि वल्र्डकपको ओज अझै बढि हुन्छ । विश्वकपबिहिन कोही खेलाडी महान खेलाडी हुन सक्दैन । यही उपाधिसँगै मेसी महान खेलाडीमा दर्ज हुन सकुन्, यो पटक अधिकांश फुटबलप्रेमीको चाहना थियो । स्वयम् मेसीलाई पनि सबै पाउँदा पनि वर्ल्डकपको उपाधि नपाउँदा केही नपाए जस्तो भैरहेको थियो ।
विगतमा आठवटा विश्वकप हेरी सकेपछि म एउटा निष्कर्षमा पुगें कि मैले हेरेको खेल मेरो टिमले जितिरहेको छैन । सन् २०१४ को वर्ल्डकपले पनि यो प्रमाणित गरेको थियो । खेल पुरै अर्जेन्टिनाको पक्षमा हुँदा समेत अन्तिम समयमा मारिया गोट्जेले गोल गर्दै जर्मनीलाई जिताए । जुन खेल मैले हलमा गएर हेरेको थिएँ । यो विश्वकपको पनि पहिलो खेल साउदी अरेबियासँग हार्नुपर्ने कुनै कारण नभएको अर्जेन्टिनाको खेल मैले प्रयोगको लागि हेर्ने निर्णय लिएँ । मेरो अन्धविश्वास जो मेट्नु थियो । तर मैले हेरेको पहिल्यै खेल हार्यो मेरो टिमले, त्यो पनि साउदी अरेबियासँग ।
त्यसपछि मैले अर्जेन्टिनाको खेल नहेर्ने निर्णय लिएँ । अपडेटहरु हेर्ने, रातभर जागेर साथीहरुलाई फोन र मेसेज गर्ने बाहेक मैले कुनै खेल हेरिँन । हाइलाइट्सले काम चलाएँ । संयोग नै होला कि ब्राजिल र क्रोएसियाको क्वाटरफाइनलको दिन मैले अर्को प्रयोग स्वरुप ब्राजिलको समर्थन गरें, खेल हेरें । खासमा मलाई सेमिफाइनलमा अर्जेन्टिनाको भेट ब्राजिलसँग नहोस् भन्ने थियो । भयो पनि त्यस्तै । ब्राजिल हार्यो । अब मेरो शंका झनै मजबुत भयो । मैले अर्जेन्टिनाको सेमिफाइनल पनि हेरिनँ । अर्जेन्टिना कठिन साथ फाईनल पुग्यो ।
फाइनल आउँदै थियो । चोक–चौतारी सबैतिर फुटबलको चर्चा थियो । साथीभाइहरु फाइनल फनको योजना बनाउँदै थिए । धेरै योजनामा मेरो नाम पनि छुटेको थिएन । तर मेरो मनको हुण्डरीले मलाई जरैदेखि हल्लाईरहेको थियो । सानो समूहमा मैले हेरे खेल हार्छ भन्ने गाँईंगुईँ पनि चल्न थालेको थियो । तर हारेको दिन मैले मात्र हेरेको हुँदिन भन्ने तर्क दिन जाँगर नै चलेन । बस सुनिरहें । मेसी म्याराडोनाका उत्तराधिकारी थिए । म्याराडोना कै १० नम्बर जर्सी लगाएका मेसी र १० नम्बरलाई यो पटक वल्र्डकपले पनि न्याय गरोस् भन्ने लागेको थियो । मेसीलाई महान बन्न मात्र एउटा उपाधिको खाँचो थियो “वर्ल्डकप” ।
फाइनल खेल शुरु हुनु अघि छिमेकी भाइहरुले फुटबल हेर्न साह्रै कर गरे । म नगए कोही नहेर्नेसम्म भयो । तैपनि समूहमा हेर्दा के फरक पर्ला र भन्ने सोचेर म फुटबल हेर्न गएँ । बडो मेहनतले थरीथरीका परिकार बनाएर ठिक्क पारेका रहेछन् । त्यहीँ बसियो । खेल शुरु भो । मेरो धड्कन बाहिरै सुनिएला जस्तो गरी ढुक–ढुक गरिरहेको थियो । अरुले रमाईलो लिइरहेको माहोलमा मैले भने रमाईलो लिनै सकिरहेको थिईँन । तर जे होस् फाइनलमा अर्जेन्टिनाको खेल अत्यन्तै परिस्कृत थियो । मेसीले २३ र डि मारियाले ३६ मिनेटमा गोल गरे । २ जना फ्रान्स समर्थक बाहेक सबै रमाउन नाच्न थाले । मलाई भने अझै मनमा शंका थियो । अर्जेन्टिनाको पुरानो एउटा कमजोरी छ । गोल खाएपछि लय गुमाउने । मलाई त्यही कुराले खाइरहेको थियो । हाफटाइमपछि हामी फेरी बास्तु बिग्रने डरले जो जहाँ–जहाँ थिए त्यहीँ त्यहीँ बस्यौं । एउटाले प्वाक्क बोल्यो, यो पकाको खाको भाँडा माझौं अनि बल्ल हेर्न बसौं । मैले पनि प्वाक्कै भनिदिएँ “अर्जेन्टिनाले जिते मै माझ्दिन्छु” खुरुक्क बसेर खेल हेर । खेल ७९ औं मिनेटमा पुग्यो । अब भने जीत पक्का भो भन्नेमा म विश्वस्त हुँदै थिएँ । मैले सबैको अघि भने “आज खेल जित्यो भने धेरै रेकर्ड बन्छ, त्यो मध्ये एउटा रेकर्ड मैले बनाउनेछु” । यो भनेको १ मिनेट पनि नबित्दै फ्रान्सले गोल गर्यो । लगत्तै अर्जेन्टिनाले लय गुमायो ।
त्यसको डेढ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोश्रो गोल गर्दै फ्रान्सलाई बराबरीमा ल्याए । मैले साउदी अरेबियाको गेम सम्झें । त्यसपछि एक सेकेण्ड पनि ढिला नगरी खेल हेर्न छोडेर म घर आएर पल्टिएँ । सुत्नै सकिन । धेरैबेर ऐठन भईरह्यो । मैले हेरेकै कारणले हार्न लागेको हो भन्ने लाग्यो । आफैंप्रति निक्कै रिस उठ्यो । मेसीको हातमा आइसकेको ट्रफी मेरै कारण फेरी छुटिरहे जस्तो लाग्न थाल्यो । एकपटक अन्तरवार्तामा गणेश थापालाई सोधिएको थियो, “तपाइँ नेपालको खेल स्टेडियममा नहेरेर किन घरमा हेर्नुहुन्छ ? उहाँको उत्तर थियो “मैले स्टेडियममा गएर हेरे नेपालले हार्छ ।” मैले त्यही सम्झें । म घर आएपछि मेरो टिमले जित्छ कि भन्ने मलाई झिनो आश भने लागिरहेको थियो ।
खेल सकिना साथ खेल हेर्दै गरेको भाइको फोन आयो । मैले अत्यन्तै डराउँदै फोन उठाएर सोधें, के भो भाइ ? उताबाट उत्तर आयो “दाजु भाँडा माझ्न आउनु ।” मेरो खुसीको सिमा रहेन । एउटा मिठो अन्धविश्वास मनमा पालेर, मनैले भन्यो, “मेसी तिमीलाई मैले जिताएँ ।”
