हेटौंडाः बागमती प्रदेशसभाको सर्वदलीय बैठक पुस ८ गते शुक्रबार बस्ने भएको छ । बागमती प्रदेशसभा सचिवालयले पुस ८ गते शुक्रबार ११ बजेका लागि सर्वदलीय बैठक बोलाएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।
प्रदेशसभाको बैठक सञ्चालनको तयारी पूरा भएको सचिव खड्काले बताउनुभयो । सर्वदलीय बैठकका लागि प्रत्येक राजनीतिक दलबाट दुई–दुई जनालाई बोलाएको उहाँले बताउनुभयो । सर्वदलीय बैठकले जेष्ठ सदस्यको सपथग्रहण गराउनुपर्ने, प्रदेश सांसदहरुको सपथग्रहण गराउनुपर्ने र हाउस सञ्चालन गर्नेबारे छलफल गरिने सचिव खड्काले बताउनुभयो ।
प्रदेश सांसदहरुमध्येबाट ज्येष्ठ सदस्यको पहिचान प्रदेशसभा सचिवालयले गरेको छ । निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त जेष्ठ प्रदेशसभा सदस्य नुवाकोट निर्वाचन क्षेत्र २ को (क) बाट प्रत्यक्षतर्फ निर्वाचित ७२ वर्षीय रामप्रसाद ढुङ्गाना रहनुभएको छ । ढुङ्गाना माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
यस्तै, कान्छी प्रदेशसभा सदस्य रामेछापबाट समानुपातिकमा निर्वाचित २८ वर्षीया लक्ष्मी घिमिरे रहनुभएको छ । घिमिरे राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित हुनुभएको हो । सभामुख तथा उपसभामुख चयन नभएसम्म ज्येष्ठ प्रदेशसभा सदस्यले बैठकको अध्यक्षता गर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो । प्रदेशसभाको पहिलो बैठक सुरु भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था संविधानको धारा १८२ को उपधारा १ मा रहेको सचिव खड्काले बताउनुभयो । बागमती प्रदेशसभामा यस पटक ७ राजनीतिक दलको प्रतिनिधित्व छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टी प्रदेशसभामा रहेका छन् ।
मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले २५ सिट, नेकपा माओवादी केन्द्रले १४, नेकपा एमालेले १३, राप्रपा ७, नेकपा एकीकृत समाजवादी ५ सिटमा विजयी भएको छ । यस्तै हाम्रो नेपाली पार्टीले र नेपाल मजदुर किसान पार्टीले १–१ सिट जितेको छ । यस्तै प्रदेशसभामा समानुपातिकतर्फबाट नेकपा एमालेले १४ सिट, नेपाली कांग्रेसले १२ सिट, माओवादी केन्द्रले ७ सिट, राप्रपाले ६ सिट, एकीकृत समाजवादीले २ सिट, नेपाल मजदुर किसान पार्टीले २ सिट र हाम्रो नेपाली पार्टीले १ सिट पाएको छ । बागमती प्रदेशमा नेपाली कांग्रेस यसपटक पहिलो दल बनेको छ । यस्तै यसअघिको प्रदेश सभामा पहिलो दल रहेको नेकपा एमाले यस पटक दोस्रो दल भएको छ ।
प्रदेशसभा बैठक सञ्चालनका लागि अहिले ७ वटै दलको लागि संसदीय दलको कोठा छुट्याइएको छ । नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको पुरानै कोठामा नै कार्यालय रहेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका लागि एउटै भवनमा संसदीय दलको कोठा राखिएको छ । कोठामा अहिले सामग्री मिलाउने कार्य भइरहेको र एक–दुई दिनमा पूरा तयारी हुने सचिव खड्काले बताउनुभयो ।
