Home अन्तरवार्ता आर्थिक अभावले अधिकांश बिरामी उपचार गर्न आउँदैनन्

आर्थिक अभावले अधिकांश बिरामी उपचार गर्न आउँदैनन्

डा. सुनिल थकाली प्रमुख हेटौंडा सामुदायिक आँखा अस्पताल

रोटरी क्लब अफ हेटौंडाको आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा गत साता मकवानपुर, बारा र रौतहट जिल्लाका ५ स्थानमा भएको निःशुल्क आँखा शिविरमा १ हजार १ सय ४३ जनाले आँखा परीक्षण गराएका थिए । आँखा परीक्षण गराएकामध्ये २ सय १२ जनाको आँखामा मोतिबिन्दु पहिचान भएको थियो । आँखा परीक्षण गराएकामध्ये करिब २० प्रतिशतमा मोतिबिन्दुको समस्या पहिचान भएको छ । मोतिबिन्दु भएका व्यक्ति र उसको सहयोगीलाई समेत घरदेखि आँखा अस्पतालसम्म ल्याउने, खाने, बस्ने र उपचारपछि घर फर्कने सुविधा उपलब्ध गराउँदासमेत १ सय ६६ जनाले मात्रै शल्यक्रिया गराएका छन् । आँखासम्बन्धी यति जटिल समस्या र निःशुल्क उपचार सेवा समेत नलिइरहको सन्दर्भमा समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. सुनिल थकालीसँग गर्नुभएको कुराकानीः

समाजः विभिन्न ५ स्थानमा गरिएको आँखा शिविरमा मोतिबिन्दुको समस्या हिजोको भन्दा बढ्दो वा घट्दो कस्तो अवस्था देख्नुभयो ?

थकालीः मोतिबिन्दुको समस्याको संख्या भन्दा पनि एक प्रकारको ग्रेडिङ हुन्छ । संख्याको आधारमा नै हेर्दा पहिलाको भन्दा अहिलेको संख्या एकदमै कम हो । मोतिबिन्दुको बिरामीको संख्या त खासै घटेको छैन, तर समस्याको आधारमा हेर्दा पहिलेको भन्दा अहिलेको मोतिबिन्दु धेरै गुणाले सामान्य हो । अहिले देखापरेको मोतिबिन्दु तत्काल उपचार गरिहाल्नुपर्ने खालको भने थिएन ।

समाजः यति धेरै जनामा समस्या हुँदा पनि उक्त मानिसहरु स्वास्थ्य संस्थासम्म चेकजाँच गर्न नआउनुको कारण के हो ?

थकालीः मैले देखेअनुसार धेरै बिरामीहरु स्वास्थ्य संस्थामा चेकजाँचका लागि नआउनुको प्रमुख कारण भनेको आर्थिक अभाव हो । लगभग ८० प्रतिशत बिरामीहरुचाहिँ आर्थिक अभावको कारण उपचारका लागि नआएको देखिन्छ । बाँकी २० प्रतिशत मानिसहरुचाहिँ अस्पतालको पहुँच नभएको कारण उपचार नगरेको देखिन्छ । आँखा अस्पताल वा आँखा उपचार केन्द्र भएपनि गाउँबाट टाढा परेको हुनाले उपचार हुन नसकेको जस्तो देखिन्छ ।

समाजः सामान्यतया मोतिबिन्दुको उपचार गर्न कति खर्च लाग्छ ?

थकालीः हामीसँग अहिले दुई किसिमको उपचार विधि रहेका छन् । एउटा मेसिनमार्फत् गर्ने टेको विधिबाट उपचार गर्दा १० हजारदेखि १२ हजार रुपैयाँसम्म पर्न जान्छ । अर्काे म्यानुअल विधिमार्फत् उपचार गर्दा करिब ८ हजार रुपैयाँ पर्छ ।

समाजः रोटरी क्लबले मोतिबिन्दुका बिरामीहरुको उपचारका लागि आउने–जाने भाडा, खाने, बस्ने सुविधालगायत सम्पूर्ण सुविधा उपलब्ध गराइदिँदा पनि कम्तीमा पच्चीस प्रतिशत बिरामी उपचारका लागि नआउनुको कारण के हो ?

थकालीः अधिकतम मोतिबिन्दुको समस्या देखापरेका बिरामीहरुको चाहिँ बिरामी कुरुवा नभएर उनीहरु उपचारका लागि आउन सकेनन् । कतिपय बिरामीको घरबाट निस्कने वातावरण नभएर आएनन् । मेरो अनुमानमा केही बिरामीहरुचाहिँ नयाँ ठाउँमा आउन हिचकिचाउने भएर पनि नआएको हुनसक्ने देखियो ।

समाजः कुन निकायले यस्ता समस्याहरुको समाधानमा सहजीकरण गरियो भने धेरै मानिसले लाभ लिन सकिन्छ ?

थकालीः अहिलेको डब्लुएचओले इन्टरगे्रटिड पिपुल आई सेन्टर (इपेक) लागू गरेको छ । यसअन्तर्गत् जनरल हस्पिटल र आँखा उपचार केन्द्र सँगसँगै सहकार्य गर्दछ । यसलाई सरकारले पनि लागू गर्न खोजिरहेको छ । यदि इपेक देशको ७७ वटै जिल्लामा लागू भयो भने केही हदसम्म यस्ता समस्याको न्यूनीकरण गर्न सकिन्छ र यसबाट धेरै मानिसले लाभ पनि लिन सक्छन् जस्तो लाग्छ ।

Exit mobile version