Home मुख्य समाचार प्रदेशको राजधानी सहर बालमैत्री घोषणाको तयारी, २० वर्षभन्दा कम उमेरमै ८८ किशोरी...

प्रदेशको राजधानी सहर बालमैत्री घोषणाको तयारी, २० वर्षभन्दा कम उमेरमै ८८ किशोरी आमा बने

कार्यक्रममा सहभागी अतिथिहरु ।

हेटौंडाः बागमती प्रदेशको राजधानी सहर हेटौंडा उपमहानगरपालिका बालमैत्री पालिका घोषणाको तयारीमा जुटेको छ । बालमैत्री पालिका घोषणाका लागि महत्वपूर्ण ५१ वटा सूचक पूरा भएको अवस्थामा बालमैत्री पालिका घोषणा गर्न सकिन्छ । बालमैत्री पालिका घोषणाका लागि ५१ वटा सूचकले वृहत विषयलाई समेटेको छ । ती सूचकमध्ये प्रमुख मुद्दा भनेको बालश्रम निषेध हुनुपर्ने, बालविवाह हुन नहुने, विद्यालय जाने उमेरका बालबालिकाले विद्यालयमा भयरहित शिक्षा पाउनुपर्नेलगायत छन् ।

बालमैत्री पालिका घोषणाको तयारी भइरहँदा चालु आर्थिक वर्षको पहिलो ४ महिनामा हेटौंडा अस्पतलामा २० वर्षभन्दा कम उमेरका ८८ जना किशोरी आमा बनेका छन् । साउनमा २० जना, भदौमा ३० जना, अजोसमा १८ जना र कात्तिकमा २० जना किशोरीले सन्तान जन्माएको हेटौंडा अस्पतालको प्रसुती वार्डकी इन्चार्ज देवकी खतिवडाले जानकारी दिनुभयो । कतिपय किशोरी (२० वर्षभन्दा कम उमेरमै) दोस्रो सन्तान जन्माउन अस्पताल आइपुग्ने इन्चार्ज खतिवडाले बताउनुभयो ।

सरकारले २० वर्षभन्दा कम उमेरमा विवाह गर्नुलाई गैरकानुनी मान्दै विवाह गर्ने, गराउनेलाई दण्डको व्यवस्था गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । कानुन कार्यान्वयन गर्नुपर्ने निकाय, जनप्रतिनिधि, नागरिक समाज, अभिभावक गैरजिम्मेवार बन्दा किशोरीहरुले जोखिम व्यहोर्न बाध्य छन् । ३० बेड क्षमताको हेटौंडा अस्पतालको प्रसुती सेवामा कात्तिक महिनामा ३ सय ११ जना गर्भवतीले प्रसुती सेवा लिएका छन् । हेटौंडा अस्पतालमा ५ जना विशेषज्ञ चिकित्सकले महिला तथा प्रसुती स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।

Exit mobile version