हेटौंडाः अष्ट्रेलियामा जारी टि–२० वल्र्डकप क्रिकेट प्रतियोगितामा पाकिस्तान फाइनल प्रवेश गरेको छ । आज भएको सेमीफाइनल खेलमा न्यूजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तान फाइनल प्रवेश गरेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको न्यूजिल्याण्डले ४ विकेटको क्षतिमा १ सय ५२ रन जोडेको थियो । न्यूजिल्याण्डका लागि डारेल मिचेलले अविजित रहँदै ३५ बलमा ५३ रन जोडेका थिए । क्याप्टेन केन विलियम्सन्ले ४६ रन जोडेका थिए । न्यूजिल्याण्डलाई मध्यम स्कोरमै समेटेर जवाफी व्याटिङमा उत्रिएको पाकिस्तानले १९ ओभर १ बलमा ३ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो ।
पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ५७ रन र क्याप्टेन बाबर आजमले ५३ रन जोडेर जितको आधार तयार पारेका थिए । मोहम्मत ह्यारिसले ३० रन जोडे । सेमीफाइनलको प्लेयर अफ दि म्याच पाकिस्तानका मोहम्मद रिजवान घोषित भए । दोस्रो सेमीफाइनल खेल भोलि बिहीबार भारत र इंग्ल्याण बीच हुनेछ ।
