Home मुख्य समाचार हाम्रो नेपाल पार्टीका उम्मेदवार दिपेन्द्र चन्द ठकुरीद्वारा टेलिभिजन कार्यक्रममा अवरोध (भिडियोसहित)

हाम्रो नेपाल पार्टीका उम्मेदवार दिपेन्द्र चन्द ठकुरीद्वारा टेलिभिजन कार्यक्रममा अवरोध (भिडियोसहित)

हेटौंडाः आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा हिमालय टेलिभिजनले हेटौंडामा शनिबार बिहान आयोजना गरेको निर्वाचन महासंग्राम बहस कार्यक्रमलाई हाम्रो नेपाल पार्टीका उम्मेदवारहरुले अवरोध गरेका छन् ।

आफ्नो पार्टीका नेता र उम्मेदवारलाई मञ्चमा नराखेको भन्दै हाम्रो नेपाल पार्टीबाट प्रतिनिधि सभा सदस्यमा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका दिपेन्द्र चन्द ठकुरी र मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका किशोर अर्यालसहितको समूहले कार्यक्रममा अवरोध गरेका हुन् । अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि समेत अवरोध हुने गरी ठकुरीको समूहले टेलिभिजन कार्यक्रममा अवरोध गरेका छन् ।

ठकुरीको समूहले अवरोध गरेपछि करिब ९ मिनेटमा रोकिएको कार्यक्रमको अंश ।

प्रस्तोता राजेन्द्र बानियाँले कार्यक्रम सञ्चालन गर्न सुरु गरेलगत्तै ठकुरीले ठूला दललाई मात्रै मञ्च उपलब्ध गराएको आफ्नो दललाई अवसर नदिएको भन्दै कार्यक्रममा अवरोध गरेका थिए । कार्यक्रम प्रस्तोता बानियाँले कार्यक्रमका प्रदेश नम्बर १ र मधेश प्रदेशमा महासंग्राम सञ्चालन गरेर बागमती प्रदेशको राजधानी हेटौंडामा बहस गर्न लागिएको र कात्तिक ३० गतेसम्ममा बाँकी ४ वटा प्रदेशमा पनि बहसको कार्यक्रम सकिने जानकारी गराउँदा गराउँदै ठकुरीले अवरोध गरेका थिए ।

प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा अवरोध भएपछि कार्यक्रम नै बिथोलिएको थियो । कार्यक्रम प्रस्तोता बानियाँले केही दलका प्रतिनिधि र विश्लेषकलाई मञ्चमा राखिए पनि कार्यक्रम सञ्चालन गरिएको हलमा सहभागी सबै दलका नेता, उम्मेदवार र सहभागीलाई बोल्ने अवसर दिइने बताएका थिए । कार्यक्रम प्रस्तोताको आग्रहलाई बेवास्ता गर्दै ठकुरीसँगै अर्याल र उनीहरुका समर्थकले अवरोध जारी राखेका थिए । उनीहरुको अवरोधकै कारण करिब ९ मिनेटपछि प्रत्यक्ष प्रसारण नै रोकेर कार्यक्रम स्थगित गरिएको थियो ।

कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँले पटक–पटक आग्रह गर्दा पनि ठकुरीले मञ्च अगाडि नै गएर अवरोध गरे । ठकुरीले टेलिभिजन कार्यक्रम अवरोध गर्नुका साथै गम्भीर आरोप समेत लगाएका छन् । हिमालय टेलिभिजन र टेलिभिजनमा आवद्ध पत्रकारले लाखौं रुपैयाँ लिएर सीमित उम्मेदवार र पार्टीका नेतालाई मात्रै बहसमा सहभागी हुन अवसर दिएको ठकुरीले आरोप लगााएका छन् । दलाल पत्रकारिता, निरंकुश पत्रकारिता भएको भन्दै ठकुरीले लाखौं रकम लिएको आरोप लगााएका छन् । कार्यक्रम नियोजित भएको भन्दै ठकुरीले भने, ‘यो कार्यक्रम नियोजित हो । कति लाख लिएर कार्यक्रम गरेको हो ? शेरबहादुर देउवा र हाम्रो बराबर हैसियत छ ।’

हिमालय टेलिभिजनमा लोकप्रिय यक्ष प्रश्न कार्यक्रमका प्रस्तोता राजेन्द्र बानियाँले दलाल पत्रकारिता गरेको, बहसमा सहभागीसँग लाखौं रुपैयाँ लिएको भन्ने जस्ता आरोप लगाइएको भन्दै दुख व्यक्त गरेका छन् । लोकप्रिय प्रस्तोतामाथि गम्भीर आरोप लगाउँदै टेलिभिजन कार्यक्रम नै अवरोध गरेकोप्रति ठकुरीको समूहको आलोचना भइरहेको छ । ठकुरीको समूहले अवरोध गरेको कार्यक्रमको अंश युट्युवमा हेर्न सकिन्छ ।

स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर लौरो चिन्हबाट काठमाडौं महानगरपालिकामा बालेन्द्र साह र धरान उपमहागरपालिकामा हर्क साम्पाङ निर्वाचित भएको पृष्ठभूमिमा ठकुरी र अर्यालले सामाजिक सञ्जालमा आफ्नो पार्टीको लौरो चुनाव चिन्ह मात्रै राखेर राजनीतिक दलको नाम भने उल्लेख गरेका छैनन् । मतदातालाई स्वतन्त्र उम्मेदवारको रुपमा प्रभावित पार्न पनि उनीहरुले दलको नाम उल्लेख गरेका छैनन् ।

Exit mobile version