Home मुख्य समाचार एमाले मकवानपुरको निर्वाचन परिचालन कमिटी गठन, अनन्त पौडेल संयोजक

एमाले मकवानपुरको निर्वाचन परिचालन कमिटी गठन, अनन्त पौडेल संयोजक

निर्वाचन परिचालन कमिटी गठन गरिएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सहभागी नेताहरु ।

हेटौंडाः नेकपा एमाले मकवानपुरले आसन्न प्रदेश तथा संघीय निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर संविधान सभा सदस्य अनन्त पौडेलको संयोजकत्वमा ७ सय ५१ सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटी गठन गरेको जनाएको छ । निर्वाचन परिचालन कमिटी गठनसँगै निर्वाचन कार्यालयको पनि उद्घाटन गरिएको छ ।

नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जिल्ला निर्वाचन परिचालन कमिटीसँगै संघीय तथा प्रदेश निर्वाचन क्षेत्रस्तरीय निर्वाचन कमिटी, पालिका, वडा र बुथस्तरीय निर्वाचन परिचालन कमिटी गठन गरिने जानकारी दिनुभयो । जिल्ला निर्वाचन परिचालन कमिटीको सहसंयोजकमा एकालाल श्रेष्ठ, सचिवमा नवीन सिग्देल रहनुभएको छ ।

पार्टी कार्यालयमा निर्वाचन परिचालन कमिटीको बोर्ड राख्दै नेकपा एमाले मकवानपुरका नेताहरु ।

यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा रामचन्द्र राई, सचिवमा अनिलकुमार बानियाँ, क्षेत्र नम्बर २ को संयोजकमा सुवासचन्द्र ठकुरी, सचिवमा मेम्बर लोलाई जिम्मेवारी दिइएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश सभा १ को ‘क’ को संयोजकमा दिलबहादुर घिसिङ, सचिवमा कृष्णप्रसाद चौलागाई, १ को ‘ख’ को संयोजकमा रघुनाथ खुलाल र सचिवमा ईन्द्रप्रसाद नेपाल, प्रदेश सभा २ को ‘क’ को संयोजकमा बलराम बल, सचिवमा पार्वती राना, २ को ‘ख’ को संयोजकमा एकराज उप्रेती र सचिवमा नरेन्द्र लाल रिजाललाई जिम्मेवारी दिइएको छ ।

पार्टीको पालिकास्तरीय कमिटीले नै पालिकास्तरीय निर्वाचन परिचालन कमिटी गठन गर्ने बताइएको छ । निर्वाचनको प्रचारप्रसारका लागि पार्टी कार्यालयमै प्रतिनिधिसभा १ र २ को कार्यालय रहने जानकारी दिनुहुँदै पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले भन्नुभयो, ‘प्रदेश सभा १ को ‘क’ को कार्यालय बकैया गाउँपालिकाको हात्तिसुँडेमा स्थापना गरिनेछ । प्रदेश सभा १ को ‘ख’ को कार्यालय जिल्ला पार्टी कार्यालयमै रहनेछ भने प्रदेश सभा २ को ‘क’ को कार्यालय थाहा नगरपालिकाको पालुङमा रहने छ भने २ को ‘ख’ को कार्यालय मनहरीमा हुनेछ ।’

निर्वाचन परिचालन कमिटीले घोषणापत्रको तयारी गरी नेकपा एमालेको औचित्यका बारेमा मतदातासम्म सन्देश पुर्याउने दावी गरिएको छ । पार्टी संरचनालाई जनतासम्म व्यवस्थित रुपमा पुर्याएर मुलुक जोगाउन एमालेले नै जित्नुपर्ने सन्देश मतदातासम्म पुर्याइने जिल्ला अध्यक्ष श्रेष्ठले बताउनुभयो । निर्वाचन परिचालन कमिटी घोषणा तथा कार्यालय उद्घाटन कार्यक्रममा पार्टीको केन्द्री, प्रदेश, जिल्ला र पालिकास्तरीय नेतृत्वको सहभागिता रहेको थियो ।

Exit mobile version