Home कला हास्यव्यङ्ग्यका पर्याय भैरव अर्याल, सन्दर्भः भैरव स्मृति दिवस

हास्यव्यङ्ग्यका पर्याय भैरव अर्याल, सन्दर्भः भैरव स्मृति दिवस

राजकुमार लामिछाने हेटौँडा–४

नेपाली साहित्यमा विशिष्ट हास्यव्यङ्ग्यकारको रूपमा प्रसिद्धि कमाएका भैरव अर्यालको जन्मपिता होमनाथ अर्याल र माता खेमकुमारी अर्यालको कोखबाट ललितपुरको कुपण्डोलमा वि.सं. १९९३ असोज ५ गते भएको थियोे । उहाँका ३ छोरा, ३ छोरीसहित ८ जनाको परिवार रहेको र गोरखापत्र संस्थानको सानो जागिरबाट सम्पूर्ण खर्च पुर्‍याउन पर्ने भएकोले आर्थिक अभावको रोटेपिङमा सधैं रिङ्नु पर्ने अवस्था थियो ।

प्रतिभा पत्रिकामा नयाँ जीवन कविता (२००९) मा प्रकाशन गरेर साहित्यिक फाँटमा उदाएका अर्यालका काउकुति (२०१९), जयभुँडी (२०२२), गलबन्दी (२०२६), इतिश्री (२०२८), दस औतार (२०३३), भैरव अर्यालका हास्यव्यङ्ग्यहरू (२०५९) र विष्णु प्रभावद्वारा सम्पादित टेढो ऐना (२०६३) हुन् ।

त्यसैगरी उहाँले अन्य विधाका थुप्रै कृतिहरूको सिर्जना, समालोचना र सम्पादन समेत गर्नु भएको छ । के के भयो (२०१६), उपवन (२०१८), राष्ट्रिय आव्हान (२०१८), विरही राम (२०२०) साझा कथा (२०२५), छ्याकन (२०२५), साझा निबन्ध (२०२६), प्रवेशिका निबन्ध (२०२७), नेपाली काव्यमा प्रकृति (२०३०), कारिन्दाको दिनचर्या (२०६८) र भैरव अर्यालका समालोचनाहरू (२०६९) हुन् । त्यसैगरी रत्नश्री, रचना, हालखबर, गोरखापत्र, मधुपर्क आदि पत्रिकाहरूको सम्पादनमा समेत संलग्न हुनुहुन्थ्यो । २०२२ सालमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता महोत्सवमा अर्याल प्रथम हुनु भएको थियोे ।

“म दिनदिन भर–
आफ्ना छिनहरू बेच्तै हिँड्छु,
आफ्ना दिनहरू बेच्तै हिँड्छु
मानौं बेसाउनु छ मैले एकरात स्वास्नीसँग
किन्नु छ केही रात जिन्दगीसँग, जगतसँग
शताब्दीको शर्त नै यस्तैयस्तै छ आज
एक अहोरात्रको पनि बहाल तिर्नुपर्छ मैले सृष्टिलाई
त्यसैले त यहाँ आफैंलाई किन्न
बेच्नुपर्दछ मैले आफैंलाई, आफैंलाई ।”

…भन्ने जस्ता मर्मस्पर्शी भावले भरिएका सिर्जनाहरू उमार्ने र साहित्यको फाँटमा लटरम्म पार्ने विशेष आँट भएका नेपाली हास्यव्यङ्ग्य साहित्यका शाश्वत शिल्पी भैरव अर्यालले सायद आफैलाई केन्द्रमा राखेर यी कालजयी हरफहरू सिर्जना गर्नु भएको हुन सक्छ । शारीरिक रूपमा अग्लो फूर्तिलो जिउडाल भएका भए पनि रोग तथ भोकले आक्रान्त अर्यालले निराश जीवनलाई अल्पायुमै पूर्णविराम दिनुभयो । गोकर्णेश्वर पुलबाट बाग्मती नदीमा हामफालेर वि.सं. २०३३ असोज १९ गते मृत्युुवरण गर्नु भयो ।

आज मिति २०७९ असोज ५ गते भैरव स्मृति दिवस । उनै महान हास्यव्यङ्ग्य शिल्पी भैरव अर्यालको प्रतिमामा मल्यार्पण गरी उहाँलाई सम्झने कार्यक्रम रहेको हुँदा सम्पूर्ण साहित्यकार, पत्रकार एवम् साहित्यप्रेमी महानुभावहरूलाई बिहान ७ः०० बजे हेटौंडा ५ पुष्पलालपार्कस्थित भैरव अर्यालको प्रतिमा रहेको स्थानमा उपस्थित भैदिनु हुनु हार्दिक अनुरोध छ ।

Exit mobile version