Home अर्थ/व्यापार मकवानपुरगढीमा कोदो संकलन तथा प्रशोधन केन्द्र उद्घाटन

मकवानपुरगढीमा कोदो संकलन तथा प्रशोधन केन्द्र उद्घाटन

विद्युतीय घट्टको स्वीच थिचेर घट्टबाट कोदो पिसेर केन्द्रको उद्घाटन गर्नुहुँदै मकवानपुरगढी गाउँपालिकाका प्रमुख दोर्जे लामा स्याङ्तान ।

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ कालीखोलामा निर्मित कोदो संकलन तथा प्रशोधन केन्द्र उद्घाटन गरिएको छ । आइतबार मकवानपुरगढी गाउँपालिकाका प्रमुख दोर्जे लामा स्याङ्तानले विद्युतीय घट्टको स्वीच थिचेर घट्टबाट कोदो पिसेर केन्द्रको उद्घाटन गर्नुभयो ।
अपाङ्ग तथा विपन्न सहकारी संस्था र मकवानपुरगढी गाउँपालिकाको लागत साझेदारीमा निर्मित कोदो संकलन तथा प्रशोधन केन्द्रको उद््घाटन गरिएको हो । प्रमुख स्याङ्तानले कोदो पौष्टिक हिसाबले महत्वपूर्ण बाली भएको र यसको बजार माग क्रमशः वृद्वि हुँदै गइरहेकाले कृषकहरु कोदो उत्पादनमा लाग्नुपर्ने बताउनुभयो । उहाँले सहकारीमार्फत् कोदोको संकलन र पिठोलाई प्याकेजिङ गरी बजारीकरण गर्न गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।

विगत दुई वर्षदेखि सहकारी संस्थाले कोदो संकलन गर्दै आइरहेकोमा भवन अभावका कारण व्यवस्थितरुपमा कोदो संकलन तथा विविधिकरण गर्न सकिरहेको थिएन । अब भण्डारण भवन निर्माण र पिसानी मिल स्थापनापश्चात् व्यवस्थितरुपमा कोदो संकलन, भण्डारण तथा प्रशोधन र प्याकेजिङ गरी बजारीकरण गर्न सहज हुने सहकारीका सचिव कृष्णबहादुर घलान (मुस्कान) ले बताउनुभयो ।

सहकारी संस्थाले कोदो संकलन सुरुवात गरेपछि यस भेगका कृषकहरुलाई कोदो बिक्री गर्न सहज भएकाले विगतका वर्षहरुभन्दा कोदो खेती विस्तार भएको छ । गत वर्ष वडा नम्बर ४ बाट मात्र १३ हजार ५ सय केजी कोदो संकलन गरिएकोमा यस वर्ष अन्य वडाहरुबाट समेत कोदोसँगै फापर पनि संकलन गर्ने लक्ष्य रहेको सहकारीका अध्यक्ष दिलबहादुर योञ्जनले बताउनुभयो । गाउँपालिकाले स्थानीय तहमा कोदो र फापरको मूल्य निर्धारण गर्दै आएको छ र सोही मूल्यमा सहकारी संस्थाले खरिद गर्दै आएको छ । गाउँपालिकाले सहकारीमार्फत् प्रतिकेजी ४ रुपैयाँका दरले प्रोत्साहन अनुदान उपलब्ध गराउँदै आइरहेको छ ।

सहकारी संस्थाका अध्यक्ष योञ्जनको सभाध्यक्षता र मकवानपुरगढी गाउँपालिकाका प्रमुख दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गाउँपालिकाकी उपप्रमुख मानकुमारी पाख्रिन, वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, रुद्रबाटिका सामुदायिक स्वास्थ्य इकाइ प्रमुख लक्ष्मण दाहाल, कृषि प्राविधिक गोपाल लम्साल, सहकारी संस्थाका पदाधिकारीहरु, शेयर सदस्यहरु र कृषकहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version