हेटौंडाः हेटौंडा–७, नागस्वतीमा जारी नागस्वती राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता अन्तर्गत आयोजक नागस्वती भेट्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको क्वाटरफाइनलको अन्तिम खेलमा कोटेश्वर भेट्रान्सलाई ३–१ गोलअन्तरले पराजित गर्दै आयोजक नागस्वती भेट्रान्स सेमिफाइनल प्रवेश गरेको हो ।
सेमिफाइनलमा नागस्वतीले पोखराको बगरभाई खलक भेट्रान्ससँग खेल्नेछ । नागस्वती र बगरभाई बीचको सेमिफाइनल खेल आज मंगलबार नै हुने कार्यतालिका रहेपनि पानी परिरहेका कारण खेल हुन सक्ने सम्भावना न्युन रहेको आयोजक समितिका सदस्य प्रदीप गौतमले जानकारी दिनुभयो ।
यसअघि मंगलबार बिहान भएको क्वाटरफाइनलको खेलमा चावहिल भेट्रान्सलाई पराजित गर्दै जोरपाटी भेट्रान्स सेमिफाइनल प्रवेश गरेको थियो । जोरपाटी भेट्रान्सले चावहिल भेट्रान्सलाई २–१ गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । जोरपाटीले अहिले ठमेल चिया पप भेट्रान्ससँग फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनल खेलमा प्रतिस्पर्धा गरिरहेको छ । प्रतियोगिताको फाइनल भोलि बुधबार हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
