Home मुख्य समाचार मानव बेचबिखनविरुद्ध सचेतनामूलक प्रभातफेरी

मानव बेचबिखनविरुद्ध सचेतनामूलक प्रभातफेरी

सोमबार बिहान निकालिएको प्रभातफेरीमा सहभागीहरु ।

हेटौंडाः मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १६ औं राष्ट्रिय दिवसको अवसरमा हेटौंडामा प्रभातफेरी गरिएको छ । सोमबार बागमती प्रदेशको सामाजिक विकास मान्त्रालय र मानव बेचबिखनविरुद्ध सञ्जालको आयोजनामा प्रभातफेरी गरिएको मानव बेचबिखनविरुद्ध सञ्जालका संयोजक आरती पाठकले बताउनुभयो ।

प्रभातफेरीमा सामुदायिक प्रहरी, सामुदायिक असहाय बालबालिका पुनस्थापना केन्द्र, सामुदायिक संघसंस्थाहरुको उपस्थिति रहेको उहाँले जानकारी दिनुभयो । भूटनदेवी माविबाट सुरु भएको प्रभातफेरी बुद्धचोकमा आएर समाप्त भएको थियो । प्रभातफेरीपश्चात् सामाजिक विकास मन्त्रालयमा मानव बेचबिखन न्यूनीकरण विषयमा अन्तरक्रिया भएको पाठकले जानकारी दिनुभयो ।

मानव बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी तवरबाट प्रयत्न भइरहे पनि बेचबिखन तथा ओसारपसारका घटना भइरहेकै छ । यौनजन्य क्रियाकलाप, बालश्रम शोषण, श्रम शोषण, मानव अंग तस्करहरुले मानव बेचबिखन तथा ओसारपसारका कार्य गर्ने गरेका छन् । सचेतनाको अभाव, बेरोजगारी, गरिबीका कारण मानव बेचबिखन तथा ओसारपसारका घटना भइरहेकै छ । सरकारको प्रतिवद्धतापूर्ण हस्तक्षेप र व्यवस्थित योजना हुने हो भने मानव बेचबिखन तथा ओसारपसारका घटना न्यूनीकरण हुने सरोकारवालाको भनाइ छ ।

Exit mobile version