Home मुख्य समाचार नमूना संयुक्त राष्ट्र संघीय सभा सुरु

नमूना संयुक्त राष्ट्र संघीय सभा सुरु

नमूना संयुक्त राष्ट्र संघीय सभामा सहभागी विद्यार्थीहरु ।

हेटौंडाः हेटौंडा–४ स्थित नवोदय शिशु सदन माविको आयोजनामा नमूना संयुक्त राष्ट्र संघीय सभा आजबाट सुरु भएको छ । विद्यार्थीको सहभागितामा तीन दिनसम्म चल्ने नमूना सभामा नवोदय शिशु सदन माविसँगै हेटौंडा–४ स्थित व्रह्मदिक् एकेडेमी, हेटौंडा–२ स्थित बालजागृति इंग्लिस बोर्डिङ स्कुल, हेटौंडा–११ स्थित हेटौंडा एकेडेमी, हेटौंडा–१८ स्थित मकवानपुर बाल विद्या सदन‌का विद्यार्थी सहभागी छन् ।

नमूना सभाको हेटौंडा उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख गंगाधर रिमालले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देल, नवोदय शिशु सदन मावि व्यवस्थापन समितिका अध्यक्ष पुरन बहादुर जोशीको पनि आतिथ्य रहेको थियो । यसअघि संयुक्त राष्ट्र संघको नमूना सभा भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो । पहिलो पटक भौतिक उपस्थितिमै नमूना सभाको आयोजना गरिएको हो ।

नमूना सभामा महासचिवको भूमिका नवोदय शिशु सदन माविमा १० कक्षामा‌ अध्ययनरत छात्रा रेजा बिष्टले निर्वाह गर्नुहुनेछ । कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका सन्तोष कर्णको पनि उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा संयुक्त राष्ट्र संघको विभिन्न समितिका संयोजकहरुले सभामा प्रस्तुत गर्ने मुद्दाका विषयमा जानकारी गराएका थिए ।

Exit mobile version