Home कला स्वास्थ्य सचेतनासहित तीज विशेष कार्यक्रम

स्वास्थ्य सचेतनासहित तीज विशेष कार्यक्रम

हेटौंडाः आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा हरितालिका तीजको अवसरमा छालासम्बन्धी स्वास्थ्य चर्चा तथा सचेतना मुलक कार्यक्रम गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा छालाको सुरक्षा कसरी गर्ने, छाला स्वस्थ राख्नका लागि अपनाउनुपर्ने उपायहरू, कस्मेटिक उत्पादनले छालामा पार्ने प्रभाव, त्यसको रोकथाम, छालामा देखापर्ने विविध समस्याको पहिचान, समाधानको उपाय लगायतका विषयमाथि मकवानपुर सहकारी अस्पतालका छाला स्वास्थ्य विशेषज्ञ डा. बुद्धिराज पाण्डे, सौन्दर्यकर्मी अस्मिता श्रेष्ठ तथा करुणा अधिकारीले प्रकाश पार्नु भएको थियो ।

सचेतनामुलक तीज विशेष कार्यक्रममा गायक सुनिता बुर्लाकोटी तथा स्वस्तिका दाहालले तीज गीत प्रस्तुत गर्नु भएको थियो । संस्थाको संस्थापक अध्यक्ष मुना अर्याल, सल्लाहकार पूर्णकला घिमिरेको आतिथ्यमा भएको कार्यक्रम संस्थाकी अध्यक्ष भावना सापकोटाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष निरा शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो ।

तीजलाई सांस्कृतिक पर्वको रुपमा मनाउनु पर्ने तथा अहिले तीजको नाममा देखिएका विकृतिहरू हटाई सिर्जनात्मक रुपमा तीज मनाउन सकिने र आँचलले यसैगरी चेतनामूलक तीज विशेष कार्यक्रम हरेक वर्ष मनाउँदै आइरहेको संस्थाकी अध्यक्ष भावना सापकोटाले बताउनुभयो ।

Exit mobile version