हेटौंडाः शनिबार गजल मञ्च मकवानपुरले विद्यालयमा नवसर्जक केन्द्रित १९४ औं गजलयात्रा कार्यक्रम गरेको छ । नवसर्जक केन्द्रित श्रृङ्खलाअन्तर्गत् जनज्योति माध्यमिक विद्यालय, हेटौंडा—१४ मा गजलयात्रा गरेको हो ।
कार्यक्रममा जनज्योति माध्यमिक विद्यालयका विद्यार्थी सरिता अधिकारी, विनोद विश्वकर्मा, मनमाया स्याङ्तान, केदार तिमल्सिना, विनिशा तिमल्सिनालगायतले गजल वाचन गरेका थिए । गजल मञ्च मकवानपुरका निवर्तमान अध्यक्ष देवराज तिवारीले विद्यार्थीले वाचन गरेका गजलमाथि समीक्षा गर्नुभएको थियो । नवसर्जक उत्पादन, नवपुस्ता गजलकार उत्पादन, गजल वाचन कसरी गर्ने ? र साहित्यमार्फत् सामाजिक रुपान्तरणका लागि प्रेरणा दिने उद्देश्यले नवसर्जक केन्द्रित श्रृङ्खला गजल वाचन कार्यक्रम विद्यालयमा गरिएको हो ।
यसअघि गजल मञ्च मकवानपुरले साहित्य संगमको सभाहलमा साहित्यिक संस्थामा आवद्व स्रष्टाहरुबीच गजल वाचन कार्यक्रम गर्दै आएको थियो । गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको सभाध्यक्ष तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
विद्यालयस्तरमा गरिएको गजल यात्रा कार्यक्रम प्रशंसनीय रहेको सहभागीहरुको भनाई छ । अन्य विद्यालयमा पनि यस्ता कार्यक्रम गर्नुपर्ने उहाँहरुको धारणा छ । कार्यक्रममा गजलकार पुरुषोत्तम आचार्य, एस लामा, देवराज तिवारी, अनिता न्यौपाने, डीबी बर्तौला, चिरञ्जीवी लामिछाने, मसान उपासक, राजकुमार लामिछाने, लक्ष्मण पौडेल, रामहरि चौलागाईं, सुवास सजल, युवराज विकलगायतले गजल वाचन गर्नुभएको थियो ।
