हेटौंडाः लागुऔषधसहित दुईजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । बिहीबार राती १० बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रातोमाटेस्थित प्रहरीको चेकपोष्टमा सुरक्षाजाँच गर्ने क्रममा बीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ ख ५५९३ नम्बरको पेट्रोलियम पदार्थ लोड भएको ट्याङकरबाट प्रहरीले लागुऔषध बरामद गरेको हो ।

प्रहरीले चालक बारा जिल्लाको साविक अमलेखगन्ज–३ घर भई हाल मकवानपुर जिल्लाको हेटौंडा–४, हुप्रचौर बस्ने ३८ वर्षीय प्रमेश कुमार श्रेष्ठ र सहचालक हेटौंडा–५ लटिनाथ बस्ने ३२ वर्षीय संगदीप पाण्डेलाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ । ट्याङकरको चालकको सिट पछाडिको क्याबिनको भागमा लुकाई छिपाई ल्याएको अवस्थामा लागु औषध नाईट्रोभेट ४८० ट्याब्लेट, पेइभोन स्पास प्लस ४८० क्याप्सुल, डायलक्स डीसी १०० एमएलको १ बोतल बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै सुन जस्तो देखिने पहेँलो धातुबाट बनेको टाउकोमा लगाउने चन्द्रमा र तारा १/१ थान पनि बरामद भएको प्रहरीले उल्लेख गरेको छ । लागुऔषधसहित बरामद भएका बस्तुसहित प्रहरीले ट्याङ्कर र ट्याङ्कर चालक, सहचालकलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।