Home अन्तरवार्ता “अगुवाहरुले भाषाप्रति देखाउने व्यवहारले समस्याहरु सिर्जना हुँदै गएको छ”

“अगुवाहरुले भाषाप्रति देखाउने व्यवहारले समस्याहरु सिर्जना हुँदै गएको छ”

केशव प्रसाद सञ्जेल अध्यक्ष, नेपाली भाषा शिक्षक समिति मकवानपुर

विद्यालय तथा क्याम्पस तहमा नेपाली भाषा शिक्षण गर्दै आएका शिक्षकहरुको समूहले नेपाली भाषाको उन्नयनका लागि नेपाली भाषा शिक्षक समिति गठन गरेको छ । २०५८ सालमा स्थापना भएको समितिले नेपाली भाषाका विषयमा विविध कार्य गर्दै आएको छ । दुई दशकदेखि नेपाली भाषाको उन्नयनका लागि क्रियाशील समितिको गत शनिबार सम्पन्न अधिवेशनबाट केशव प्रसाद सञ्जेलको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । नवनिर्वाचित अध्यक्ष केशव प्रसाद सञ्जेलसँग समृद्ध समाज दैनिकका लागि डीबी बर्तौलाले गर्नुभएको कुराकानीः

नेपाली भाषा शिक्षक समितिको अध्यक्षमा निर्वाचित हुनुभएको छ । कस्तो अनुभव गरिरहनु भएको छ ?

सञ्जेलः गत शनिबार सम्पन्न भएको नेपाली भाषा शिक्षक समितिको चौथो अधिवेशनबाट मेरो नेतृत्वमा २१ सदस्य कार्यसमिति गठन भएको छ । जसमा उमेर र अनुभवको आधारमा अन्य सदस्यहरु मेरो तुलनामा दोस्रो पुस्ताका साथीहरु हुनुहुन्छ । तापनि उहाँहरुले प्राप्त गर्नुभएको शैक्षिक योग्यता, प्राविधिक सीप, क्षमता, खुबी र उहाँहरुमा भएको युवा उर्जाको उपयोग गर्दै मैले यो भाषा शिक्षक समितिको नेतृत्व गरेर यस संगठनको पहिचान मकवानपुर जिल्लामा राम्रो बनाउन सक्छु भन्ने विश्वास लिएको छु ।

नेपाली भाषा समितिलाई कसरी अगाडि बढाउनुहुन्छ ?

सञ्जेलः नेपाली भाषा समिति २०५८ सालमा स्थापना भई मकवानपुर जिल्लामा निरन्तर क्रियाशील भएको संगठन हो । विगतमा यसले नेपाली शिक्षकहरुलाई पाठ्यक्रम तथा प्रश्नपत्र तयार सम्बन्धी तालिम दिने, कविताहरुको क्यासेट बनाउने, भाषिक र साहित्यिक सेवीहरुलाई पुरस्कृत गर्ने लगायतका सराहनीय कामहरु गर्दै आएको थियो । तर पछिल्लो समय विभिन्न व्यस्तता तथा कोरोना कहरका कारणले यो कार्यमा सुस्त भइरहेको थियो । त्यसकारण अब यस संस्थालाई पुनः सक्रिय र क्रियाशील बनाउन हामी लाग्नेछौं ।

अग्रज पुस्ता र पछिल्लो पुस्तालाई कसरी समायोजन गर्दै लाने विचार गर्नुभएको छ ?

सञ्जेलः निश्चितरुपमा दुई पुस्ता भएपनि धेरैजसो चिरपरिचित र मैले आफैले शिक्षण, प्रशिक्षण गरेका साथीहरु नै रहनुभएकोले समायोजन गर्न त्यति असजिलो हुँदैन जस्तो मलाई लाग्छ । उहाहरुकै उत्साह, चाहना र सहमतिले नै मलाई नेतृत्वको भूमिका दिनुभएकाले पनि समायोजन गरेर लान त्यस्तो अप्ठ्याराहरु आउँदैनन् जस्तो लाग्छ ।

नेपाली भाषाका शिक्षकहरुलाई कस्ता समस्या तथा अप्ठ्याराहरु आउँछन् ?

सञ्जेलः भाषा आफैंमा परिवर्तनशील अवधारणा हो । त्यसले गर्दा भाषामा परिवर्तन हुने तीव्रता र शिथिलताले समस्याहरु सिर्जना गर्छ । पाठ्यक्रममा भएको परिवर्तन, भाषा शुद्धीकरण, वर्णविन्यासका नियमहरुमा एकरुपता नहुनु र विभिन्न क्षेत्रबाट भाषामा भएको स्वीकार्य तथा अस्वीकार्य परिवर्तनको हस्तक्षेप जस्ता समस्याहरु नेपाली भाषामा देखापरेको छ । त्यस्तै भाषिक उत्थानको निमित्त नेपाली भाषामाथि अन्य भाषाको प्रभाव, अंग्रेजीको दबदबा, अभिभावक, समाज र विद्यार्थीमा भएको अंग्रेजी मोह बढ्दै जानु, निजी विद्यालयहरुको होडबाजी जस्ता समस्याहरु प्रशस्तै रहेको पाइन्छ ।

अंग्रेजी माध्यमको दबदबाले नेपाली भाषामा कत्तिको नकारात्मक प्रभाव पार्छ ?

सञ्जेलः नेपालीहरुमा भएको अंग्रेजी भाषा प्रतिको मोह र युरोपियन अमेरिकन संस्कृतिप्रतिको रुचिले नेपाली भाषा उत्थानका लागि एकदम ठूलो नकारात्मक प्रभाव पार्छ । राज्यले व्यवस्था गरेको भाषा नीति तथा नेतृत्व तहमा अगुवाहरुले भाषाहरुप्रति देखाउने व्यवहार र नीतिहरुका कारणले भाषामा समस्याहरु सिर्जना हुँदै गएको छ ।

सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकले पनि नेपाली विषयलाई अपहेलनाको दृष्टिले हेरेको हो ?

सञ्जेलः विद्यालयका प्रधानाध्यापकहरुले मात्र नभएर नीति, नियम बनाउने व्यक्तिहरु, निकायहरु, संस्थाहरुमा नै विकृत्ति र विचलन रहेको छ । र नेपाली भाषालाई हेर्ने दृष्टिकोण हेयपूर्ण रहेको छ । हाम्रो पाठ्यक्रममा विषयवस्तुहरु ऐन, नियममा राख्दा चाहिँ नेपालीलाई पहिलो विषयलाई राखेको छ । तर विद्यालयमा शिक्षकहरुको विज्ञापन गर्दा वा नियुक्ति गर्दा चाहिँ शिक्षा ऐन, नियमको उल्लङ्घन गर्दै नेपाली विषयलाई भन्दा बढी प्राथमिकता अंग्रेजीलाई दिएको पाइन्छ । नेपाली विषय अरु विषय शिक्षकले पढाए पनि हुने मान्यता राख्ने र नेपाली विषय शिक्षकहरुको मर्यादाको कुरालाई पनि अन्यको तुलनामा समाज तथा ती निकाय र संस्थाहरुले हेर्ने गरिन्छ ।

नेपाली भाषाका शिक्षकहरुको समस्यालाई कसरी सुनुवाई गर्दै आउनुभएको छ ?

सञ्जेलः निरन्तर रुपमा सिक्ने र सिकाउने शिक्षकको पेसा नै हो । हामीले विगतका भेलाहरुमा पनि शिक्षक साथीहरुको समस्या सुन्दै र समाधान गर्दै अगाडि बढिरहेका छौं । त्यस्तै हामीले शिक्षकहरुलाई विभिन्न किसिमका तालिम तथा प्रशिक्षणहरु दिँदै सहजीकरण गर्दै पनि आएका छौं । अगामी दिनमा पनि हामी यसैगरी सहकार्य गरी सबैको समस्या समाधान गर्दै अगाडि बढ्ने प्रतिबद्धता गर्न चाहान्छौं ।

Exit mobile version