पहिले पहिले गाउँखाने कथा सुन्न पाइन्थ्यो । आजकाल त गाउँ जति सहरले खाइसके । गाउँ खाए पनि सलह भुटेर खाएजस्तो लामखुट्टे भुटेर कसैले खान सकेनन् । उबेला घण्टी बजाउँछ पण्डित होइन, टोक्छ कुकुर होइन, त्यसपछि त मान्छेले आफैंले आफैंलाई हिर्काउँछ बौलाहा होइन, के हो ? भन्थे । लामखुट्टे पो रहेछ ।
चार खुट्टा भए पनि यसलाई कसैले चौखुट्टे वा चारखुट्टे भनेनन् । लामोखुट्टा भएको लामखुट्टे । यसरी समास विग्रह पढ्दै आएको वर्षौं भयो । लामो खुट्टा भनौं भने लामखुट्टेभन्दा लामा खुट्टा भएका कति छन् कति । लामा हात गर्ने मान्छे त झन् धेरै भेटिन्छन् । लामा लामा कुरा गरेर खास कुरा ओझेल पार्नेहरू जताततै च्याउ झैं बढेका छन् । तर तीभन्दा बढी लामखुट्टे नै बढेका देखिन्छन् ।
मौका पाउनासाथ रक्तदान लिइहाल्ने लामखुट्टेले धनी–गरीब, नेता–जनता कसैलाई विभेद गर्दैन । यसैले यसलाई “स्वतन्त्र” को पगरी दिन पनि सकिएला । बरू विभेद त टोकिसकेपछि मात्रै हुन्छ । वरिष्ठहरू विदेशसम्म पुग्छन्, कनिष्ठहरू सरकारी अस्पतालको गन्हाउने ओछ्यानमा लुतो सारेर घर फिर्छन् ।
खाल्डाखुल्डी पुर्ने, सडक किनारका थोत्रा टायर हटाउने, विषादी छर्कने, आ–आफैं घोषित उच्चपदस्थहरूका क्वार्टर सुरक्षासम्ममा राज्यको करोडौं धन लामखुट्टेका विरुद्धमा खर्च भएको पाइन्छ । यसका पनि अधिकारकर्मी हुँदा हुन् त भन्ने पनि सोच्न मन लाग्छ । यसलाई सिध्याउन वैज्ञानिकहरूले सिंगो जीवन अर्पण गरेका छन् । बिहान बेलुका आरती छोडेका पण्डितजीका सन्तानहरू पनि धुप बाल्दछन् लामखुट्टेको अन्त्येष्टीका लागि । मार्मिक कुरो त यहाँ छ– पूजामा धुप बालेर भगवान आएनन्, लामखुट्टेलाई धुप बालेर ती गएनन् ।
सज्जन वा जाली जो हुन्, घरघरमा झ्याल ढोकामा जाली हालेर लामखुट्टे छेकेका छन् । दिनभरको थकानपछि ओछ्यानमा कूल भएर निदाउन झूलको व्यवस्था छ । यसलाई सिध्याउन अनेक टुल छन्, घट्नुका सट्टा खर्चका मूल बढेका मात्रै छन् । लामखुट्टे नहुँदो हो त एउटा ढोकाबाहिर जाली ढोका, झ्यालमा जाली खापा राख्नु पर्थेन । जाली र्याकहरू बन्दैनथे । रुखहरू बच्थे । मच्छड धुप, विषादी किन्नु पर्थेन । सरुवा रोगहरूको बिगबिगी हुँदैनथ्यो । रोग लाग्दा देशी विदेशी ओखती ओसार्नुपर्थेन । लामखुट्टेले मानिसलाई व्यापक खर्चिलो बनायो । यसर्थ यसबाट बच्नका लागि भए पनि कमाइ गर्नु अहिलेको बाध्यता देखिन्छ ।
लामखुट्टेले संसारमा ठूला ठूला युद्धहरूमा हारजित गराएका छन् । मलेरिया, डेंगु, पित्तज्वरो, जापानिज इन्सेफलाइटिस, चिकनगुनिया आदिका कारण बास बसेको ठाउँमै सैनिकहरू बिरामी परेर युद्ध हारेका इतिहास पढ्न पाइन्छ । विज्ञानले दुईथरीका जीवबाट तेश्रो जीवको उत्पादन गरिसके । लामखुट्टेको घण्टी साइलेन्स राख्न किन नसकेका होलान् । त्यति पनि नसके भाइब्रेसनमा राखिदिए पनि आरामले निदाउन त पाइन्थ्यो । आउनुअघि म्यासेज गरेर आउने व्यवस्था हुँदो हो त आफ्नो व्यवस्था गरिन्थ्यो कि ।
यही पिउसोले साइरन बजाउँदै टन्न रक्सी पिएझैं रगत पिएर ढलपल हुँदा पनि जस्तासुकै अहिंसावादी मान्छेहरू पनि हिंस्रक नभई सुखै छैन । त्यसो त आजकाल लामखुट्टेभन्दा खतरनाक प्रशासक, कर्मचारी, मन्त्री, व्यापारी, लेखकहरूले देशलाई चुसिरहेका छन् । तिनलाई धुवाँले भगाउन सकेन, विषादीले रोकेन, झूल नै तन्काएर भित्र छिरेका छन् । अरू त अरू त्यस्ता लामखुट्टेलाई त सिसिटिभीले पनि नरोक्दो रहेछ ।
लामखुट्टे अध्ययन प्रतिष्ठान, संग्रहालय, अध्ययन केन्द्र बारे दिमागमा धेरै कुराहरू आइरहेका छन् । आफ्ना पार्टी सरकारमा भएका बेलामा सर्प, मुसा, झिङ्गा, लामखुट्टेका यी संस्थाहरूमा पसेर लामखुट्टेभन्दा बढी चुस्न सकिने रहेछ । आफ्नै तालीमा अरूलाई नचाउन पाइने । भिजन राख्ने– लामखुट्टे पालेर अण्डा विदेश सप्लाई गर्ने, देशलाई आत्मनिर्भर बनाउने । रिजन– आफैंलाई थाहा छँदैछ । लामखुट्टेका नाममा राजनीति यसरी पनि गर्न सकिन्छ ।
लामखुट्टेका कारण रोजगारी र व्यापारका ढोका पनि व्यापक खुलेका छन् । यसैलाई मध्यनजर गरी आउँदा सरकारले चुनावकेन्द्रित “लामखुट्टे गोठालो” भत्ताको व्यवस्था गरेर भए पनि युवालाई रोजगारी दिन सक्दो हो । यस्ता सल्लाहकारहरू सबैका छन् तर खै ध्यान हैजा फैलाउने झिंगातिर मात्रै गइरहेको हो कि भन्ने भान भैरहेको छ । त्यसो त कोरोना नामक दुहुनो गाई छउन्ज्याल यो बकेर्नुमा कसले ध्यान देओस् ।
“ए ए पख् ।” यहीबेला रोक्दा रोक्दै बोर्डर पासबिना वा मेक्सिकोबाट अमेरिका अवैध छिरेजस्तो झूलभित्र एउटा लामखुट्टे छिर्यो । व्यवस्था बदल्ने ठूला ठूला भनिएका भाषण सुन्दा त ताली नबजाउने मान्छे पनि बजाउन बाध्य भएँ । तालीकै तालमा सेलिब्रेटी लामखुट्टे नाचिरह्यो । अन्ततः केहीबेरको दोहोरो भिडन्तपछि इलेक्ट्रिक व्याटमार्फत् यसको अन्त्येष्टि भयो । यसो सोचेँ लामखुट्टेका बालबच्चाले पनि भन्दा हुन्, हाम्रो भविष्य नै बर्बाद पारिदियो । त्यसपछि तिनका परिवारका संघर्षका कथाहरू अरूले थपघट गर्न पनि त सक्लान् नि भन्दै लेख अधुरै छोडेँ ।
(लेखक सिस्नुपानी मकवानपुरमा आबद्ध हुनुहुन्छ ।)
