Home मुख्य समाचार गर्मी बढेपछि विद्यालय बन्द गर्न निर्देशन

गर्मी बढेपछि विद्यालय बन्द गर्न निर्देशन

विद्यालय बन्द गर्न निकालेको सूचना ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ भित्रका विद्यालयहरु आज आईतबार र भोली सोमबार दुई दिन बिदा भएको छ । अत्याधिक गर्मी बढेपछि वडाका विद्यालयहरु दुई दिन बन्द गर्ने निर्णय भएको हेटौंडा–८ का वडाध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो ।

अहिले अत्याधिक गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बिरामी हुने गरेको वडाध्यक्ष थापाले बताउनुभयो । अत्याधिक गर्मी बढिरहेको र सबै विद्यालयमा पुर्वाधारहरु नहुने हुनाले थप समस्या निम्त्याउने जोखिमलाई मध्यनजर गर्दै वडा भित्रका विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्न भनिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।

हेटौंडा उपमहानगरपालिकाको शैक्षिक क्यालेन्डर र प्रधानाध्यापकहरुको बैठकले साउन १ गतेदेखि २२ गतेसम्म बर्षायामको विदा दिने निर्णय भईसकेको हेटौंडा उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिनुभयो । यो निर्णय सामुदायिक तथा निजी विद्यालय दुबैको हकमा लागु हुने रिमालले बताउनुभयो ।