Home मुख्य समाचार पेशागत बिमा अभिकर्ता संघको केन्द्रीय अध्यक्षमा अधिकारी

पेशागत बिमा अभिकर्ता संघको केन्द्रीय अध्यक्षमा अधिकारी

हेटौंडाः पेशागत बिमा अभिकर्ता नेपाल विमक समिति नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको केन्द्रीय कार्य समितिको अध्यक्षमा गणेश अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । आज हेटौंडामा सम्पन्न संघको तेस्रो अधिवेशनबाट अधिकारी केन्द्रीय अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा चन्द्र बहादुर खड्का, उपाध्यक्षमा महेन्द्र प्रसाद यादव, सचिवमा ओम बहादुर केसी, सहसचिवमा रामशरण पोखरेल र कोषाध्यक्षमा तेजमणी तिमल्सिना निर्विरोध निर्वाचित भएका छन् । संघको कार्यसमितिमा अन्य १० जना सदस्यहरु निर्विरोध भएसँगै १६ जनाको कार्यसमिति बनेको छ । शनिबार निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी मनोनयन दर्ताका लागि जारी गरेको सूचना अनुसार १६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्तामाथि दाबी विरोध नपरेको हुँदा निर्वाचन अधिकृत सिताराम पन्तले उम्मेदवारी परेकाहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो ।

नवनिर्वाचित कार्यसमितिले शनिबार नै हेटौंडामा पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा बोल्नुहुँदै नवनिर्वाचित अध्यक्ष गणेश अधिकारीले यसअघिको कार्यसमितिले अधिवेशनमा आर्थिक प्रतिवेदन पेश गर्न नसकेको आरोप लगाउनुभयो । संघको २०७२ सालदेखि हालसम्मको खर्च विवरण सार्वजनिक गर्न माग गर्दा पूर्व कार्यसमितिहरु अधिवेशनमा सहभागी नभएर भागेको उहाँले आरोप लगाउनुभएको छ ।

Exit mobile version