हेटौंडाः मकवानपुरगढी गाउँपालिका–५ स्थित अस्थायी प्रहरी पोष्ट धादिङमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेश प्रसाद साह जेठ महिनाको जिल्लाकै उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार साहलाई जिल्लाको जेठ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरी अपराध नियन्त्रण तथा अनुसन्धान शाखा दरबन्दी भई मकवानपुरको धादिङमा कार्यरत प्रहरी सहायक निरिक्षक साहले आफुलाई सुम्पिएको जिम्मेवारी प्रशंसनीय ढंगबाट सम्पादन गरेको, प्रहरी पोष्टको भवनलाई जनप्रतिनिधीसँग समन्वय गरी मर्मत संभार गरी कार्यालयलाई व्यवस्थित बनाएको विवरण उल्लेख छ ।
यस्तै, कार्यालय परिसरभित्र प्रहरी कर्मचारीहरुको लागि सुबिधा सम्पन्न स्नान गृह र शौचालय निर्माण गरेको, २०७९ बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीहरुलाई व्यवस्थित तरिकाले तालिम संचालन गरी परिचालन गरेको, स्थानीय जनप्रतिनीधि, विभिन्न संघसंस्था, क्लब र जनतासँग सुमधुर सम्बन्ध बनाई समन्वय गरी चुस्त दुरुस्तरुपमा प्रहरी परिचालन गरी अपराध नियन्त्रण न्युनीकरण गरेको विवरणमा उल्लेख गरिएको छ ।
