Home मुख्य समाचार बकैया गाउँपालिकाले एफएम र पत्रपत्रिका चलाउने

बकैया गाउँपालिकाले एफएम र पत्रपत्रिका चलाउने

बकैया गाउँपालिकाको गाउँ सभामा सहभागीहरु ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै आगामी आर्थिक वर्षमा गाउँपालिकाले बकैया एफएम सञ्चालन गर्ने, पत्रपत्रिका साथै अन्य सञ्चार सेवा सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइने उल्लेख गर्नुभएको छ ।

नो होम डेलिभरी कार्यक्रमलाई सफल बनाउन वर्थिङ सेन्टरहरु थप गरी व्यवस्थित गरिने, शिक्षक तालिमलाई गुणस्तरमा अभिवृद्धि गर्दै थप प्रभावकारी बनाइने, प्रत्येक वडामा एउटा नमूना विद्यालयको रुपमा विकास गरिने, आवासीय विद्यालयको सुरुवात गर्ने, गाउँपालिकाभित्र प्राविधिक शिक्षा निशूल्क गरिने नीति गाउँपालिकाको छ । झरना–बकैया वाङ्मय प्रतिष्ठान गठनको प्रक्रिया अगाडि बढाइने नीति लिएको गाउँपालिकाले बालविवाह निवारणका लागि सम्बन्धित निकायसँगको सहकार्यलाई निरन्तरता दिने, महिलालाई सीपमुलक तालिम प्रदान गरी आर्थिकरुपमा आत्मनिर्भर बनाउने, गाउँ खेलकुद विकास समितिलाई व्यवस्थित गरिने उल्लेख गरिएको छ ।

यस्तै स्थानीय तह शहीद स्मृति फुटबल प्रतियोेगिता तथा राष्ट्रिय माझी गोल्डकपका लागि बजेट उपलब्ध गराउने, जुरेलीस्थित खेलकुद मैदानलाई मिनी रंगशालाको रुपमा विकास गरिने, गाउँपालिकाको केन्द्रदेखि वडाको केन्द्रसम्मको सडकहरु स्तरोन्नति गरिने, गाउँपालिकाको पारवाहन गुरुयोजना तयार गरिने, सवै वडामा विद्युत सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिने भएको छ ।

उद्योग स्थापना गर्न चाहने निजी व्यवसायीलाई प्रोत्साहन गर्ने, निजी क्षेत्रसँगको सहकार्य तथा साझेदारीमा प्राङ्गारिक मल उत्पादन, कृषिजन्य उद्योग स्थापनाका लागि पहल गर्ने नीति लिएको गाउँपालिकाले सेवाप्रवाहमा सहजता ल्याउन गाउँ कार्यपालिकाको कार्यालय तथा वडा कार्यालयहरुलाई फर्निचर, कम्प्युटर तथा मेशिनरी औजारले सुसज्जित गरी सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाइने उपाध्यक्ष खत्रीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
बकैया गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमको पूर्णपाठ ।

Exit mobile version