हेटौंडाः मकवानपुर गढी गाउँपालिकाको २५ जना किसानलाई किसान क्रेडिट कार्ड वितरण गरिएको छ । कृषि विकास बैंक लिमिटेड, हेटौंडा शाखाले आईतबार मकवानपुरगढी गाउँपालिकाको किसानलाई क्रेडिट कार्ड वितरण गरेको हो ।
अहिले वितरण गरिएको किसान क्रेडिट कार्ड र पहिले वितरण गरिएको कार्डको उद्देश्य र संचालन विधि फरक रहेको गढी गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय कृषि विकास कोषको ऋण सहयोगमा कृषि विकास बैंकद्वारा दूध, मासु र तरकारीमा मूल्य श्रृंखला विकासको अवधारणा अनुरुप विभिन्न क्रियाकलापहरू डिजिटल प्रविधिमार्फत् संचालन गर्न किसान क्रेडिट कार्ड वितरण गरिएको कृषि विकास बैंकका ईश्वर राज पन्तले जानकारी दिनुभयो । किसान क्रेडिट कार्ड मकवानपुरगढी गाउँपालिकामा दूध उत्पादन गर्ने, बाख्रा पालन, तरकारी र कुखुरापालन गर्ने २ सय ५० जना किसानलाई वितरण गर्ने लक्ष्य रहेको छ ।
यस कार्यक्रम अन्तर्गत व्यवसायिक शिक्षा, तालिम, किसान सूचना केन्द्र स्थापना, मूल्य श्रृंखला विकास, एम्पोस मेशिन वितरण र क्रेडिट कार्डमार्फत् सहुलियत दरमा किसानलाई कृषि कर्जा प्रवाह गर्नेछ । मकवानपुर गढी गाउ“पालिका वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरेले किसान क्रेडट कार्ड वितरण गर्नुभएको हो ।
