Home मुख्य समाचार नवसर्जक साहित्य चौतारीको संक्षिप्त परिचय

नवसर्जक साहित्य चौतारीको संक्षिप्त परिचय

समर्पण न्यौपाने

–समर्पण न्यौपाने
साहित्यिक क्षेत्रमा बालबालिकाद्वारा बालबालिकाका लागि नै सञ्चालन गरिएको एउटा नमूना संस्था हो– नवसर्जक साहित्य चौतारी । स्थापनाको दोस्रो वर्ष पनि पुग्नै लाग्दा यस संस्थाले नवसर्जक केन्द्रित रहेर १५० वटा भन्दा बढी कार्यक्रमहरू सम्पन्न गरिसकेको छ । संस्थाका अधिकांश कार्यक्रम भर्चुअल माध्यमबाट आयोजना गरिए तापनि छोटो समयमा नै नवसर्जक साहित्य चौतारीले नेपाली साहित्य जगत्मा राम्रो स्थान बनाइसकेको छ ।

हुन त नवसर्जक साहित्य चौतारी आफैंमा एउटा नौलो अभ्यासको परिणाम हो । त्यतिबेला कोभिड १९ को प्रकोपले दुनियाँ त्रसित थियो । सारा विश्व आआफ्नै घरमा थुनिएको थियो । यस्तो अवस्थामा बालबालिकाको सिर्जनशीलता मर्न नदिन साहित्यकार दीपक गौतमद्वारा नवसर्जक केन्द्रित अनलाइन साहित्यिक प्रशिक्षणको थालनी गरियो । सुरुवातमा, हेटौंडाका नवसर्जकहरूमा मात्र केन्द्रित रहेर सञ्चालन गरिएको प्रशिक्षणले केही समयमै देश विदेशका नेपाली भाषी नवसर्जकहरूलाई आकर्षित गर्न सफल भयो । यसरी २०७७ को मङ्सिर महिनासम्ममा नवसर्जक केन्द्रित अनलाइन साहित्यिक प्रशिक्षणले साहित्यका विभिन्न विधामा प्रशिक्षित नवसर्जकहरूको एउटा पुस्ता निर्माण गरिसकेको थियो । यस्तो अवस्थामा यी नवसर्जकहरूलाई संस्थागत जिम्मेवारी दिएर यो अभियानलाई अझ प्रभावकारी बनाउने दूरदर्शी विचारका साथ प्रसन्ना चौलागाईको नेतृत्वमा नवसर्जक साहित्य चौतारीको स्थापना गरियो ।

हुन त अहिले साहित्यिक संघ संस्थाहरूको संख्या उल्लेख्य छ । तर, यी संस्थाहरू आफ्नो उद्देश्य भई सञ्चालनमा रहेको अवस्था छ । तर नवसर्जक साहित्य चौतारी स्थापनाको दिनदेखि नै साहित्य सेवा र नवसिर्जना प्रवर्तनको कार्यमा अनवरत लागिरह्यो । फलस्वरुप नवसर्जक साहित्य चौतारीले आफ्नो पहिलो भौतिक कार्यक्रम २०७८ साल माघ २४ गते साहित्य संगम मकवानपुरको सभाहलमा सम्पन्न गर्यो । त्यस लगत्तै संस्थाद्वारा राष्ट्रव्यापी माविस्तरीय कविता प्रतियोगिता आयोजना गरियो । यसका अलावा नवसर्जक केन्द्रित अनलाइन साहित्यिक प्रशिक्षणलाई निरन्तरता दिने काम पनि संस्थाले नै गर्यो ।

राम्रो लेख्न राम्रो पढ्नु पर्छ । प्रशिक्षण अभियानले नवसर्जकमा लेखन संस्कृति त विकास भइसकेको थियो त्यसका सँगसँगै पठन संस्कृतिलाई पनि अगाडि बढाउन रचना वाचन एवम् पुस्तक चर्चा कार्यक्रमको शृङ्खला पनि सुरू भयो । यसरी चौतारी सिर्जनशील पुस्ता निर्माण गर्ने आफ्नो लक्ष्यतर्फ थप अग्रसर देखियो । हामी यतिमै मात्र रोकिएनौं । २०७८ असोजदेखि त झन् नवसर्जक साहित्य चौतारीले रेडियो निकाससँगको “नवसिर्जना” रेडियो कार्यक्रम नै सञ्चालनमा ल्यायो । यसले नवसर्जकहरूको लेखन र पठन मात्र नभई वाक् कौशल वृद्धि गराउन पनि ठूलो भूमिका खेल्यो ।

संस्थाले गरेको नौलो प्रयोगहरूमा प्रादेशिक बाल कवि गोष्ठी पनि एक थियो । यस शृङ्खला अन्तर्गत प्रदेश १ देखि सुदुरपश्चिमसम्म सातै वटा प्रदेशका बाल साहित्य प्रवर्तक र उत्कृष्ट बाल कविहरूसँग हामीले साक्षात्कार गर्ने मौका पायौं जसले संस्थालाई प्रादेशिक रुपमा विस्तार गर्न मद्दत गर्यो । पुरस्कार र सम्मानकै हिसाबले संस्थाको गरिमा तौलनु त्यति उचित नहोला । तर पनि हेर्ने हो भने नवसर्जक साहित्य चौतारीले सञ्चालन गर्दै आएका साहित्यिक प्रशिक्षणहरूबाट प्रशिक्षित भएर नवसर्जकहरूले थुप्रै उपलब्धिहरू हासिल गरिसकेका छन् । यसरी संस्थाले नेपाली साहित्यलाई पारेको प्रभाव सर्वज्ञात र निर्विवादित छ ।

अतः नवसर्जक साहित्य चौतारीले छोटो समयमै धेरै उपलब्धिहरू हासिल गरिसकेको छ । नवसर्जकहरूले जिल्ला, प्रदेश र राष्ट्रियस्तरमा ख्याति कमाइसकेका छन् । नवसर्जक साहित्य चौतारीमा आबद्ध नवसर्जकहरू विभिन्न साहित्यिक पुरस्कारबाट सम्मानित भइसकेका छन् । तर पनि, हामीले अझै धेरै गर्न बाँकी छ । यहाँहरूको साथ, सहयोग र सदाशयता बिना यो संस्था अघि बढ्न नसक्ने भएकाले अबका दिनमा पनि सधै झैं यहाँहरूको साथ सहयोगको अपेक्षा प्रार्थनीय छ ।
(न्यौपाने नवसर्जक साहित्य चौतारीका महासचिव हुनुहुन्छ ।)

Exit mobile version