हेटौंडाः नवसर्जकको राष्ट्रिय बालसाहित्य उत्सवको तयारी पूरा भएको छ । नवसर्जक साहित्य चौतारी नेपालले भोली शनिबार हेटौँडामा आयोजना गर्न लागेको प्रथम राष्ट्रिय बालसाहित्य उत्सवको तयारी पूरा भएको चौतारीकी अध्यक्ष प्रसन्ना चौलागाईँले जानकारी दिनुभएको छ । चौतारी स्थापनाको प्रथम वार्षिकोत्सवको अवसरमा गत पुसमा आयोजना गर्ने योजना बनाइएको कार्यक्रम कोभिडको बढ्दो दोस्रो लहरसँगै स्थगित गरिएको थियो ।
उत्सवका लागि हेटौँडा स्कुल अफ म्यानेजमेन्टले मुख्य प्रायोजकका रुपमा नगद १ लाख रुपैयाँ सहयोग गरेको छ भने सहकार्य गर्ने संस्थाका रूपमा प्याब्सन मकवानपुर र हेटौँडा नगर समितिले ५० हजार रुपैयाँ सहयोग गर्ने चौतारीका संरक्षक दीपक गौतमले बताउनुभयो । त्यस्तै उहाँले हेटौँडाका प्रायः सबै संस्थागत (निजी) विद्यालय तथा पुस्तक व्यवसायीहरूले कार्यक्रमका लागि आर्थिक सहयोग उपलब्ध गराएको समेत जनाउनुभयो । कार्यक्रम व्यवस्थापन खर्च करिब रु। ३ लाख लाग्ने र सबैको सहयोगबाट कार्यक्रम सफल हुने विश्वाससमेत गौतमले व्यक्त गर्नुभयो । कार्यक्रमका लागि शुक्रबार दिउँसोसम्म जिल्लाबाहिरबाट करिब ५० जना पाहुना हेटौँडा आइपुग्ने र हेटौँडाका साहित्यकार, साहित्यानुरागी, शिक्षक एवम् विद्यार्थी गरी करिब ३०० जनाको उपस्थितिमा कार्यक्रम हुने चौतारीका महासचिव समर्पण न्यौपानेले बताउनुभयो । उत्सवका अवसरमा अग्रज बालसाहित्यकार एवम् अन्वेषक प्रमोद प्रधानलाई नगद १५ हजार ५ सय ५५ राशिसहितको लोकनाथ न्यौपाने स्मृति अग्रज बालसाहित्यकार सम्मान–२०७९ प्रधान गरिने छ । उक्त पुरस्कारको स्थापना विष्णु न्यौपानेले गर्नुभएको हो ।
त्यस्तै, प्रदेश १ नवसर्जक सम्मानबाट झापाकी अन्वेषा चापागाईँ, मधेस प्रदेश नवसर्जक सम्मानबाट बाराका अभिजित राम, वाग्मती प्रदेश नवसर्जक सम्मानबाट भक्तपुरकी अनुज्ञा नेपाल, गण्डकी प्रदेश नवसर्जक सम्मानबाट पोखराका अनुराग सापकोटा, लुम्बिनी प्रदेश नवसर्जक सम्मानबाट कपिलवस्तुका पवन अधिकारी, कर्णाली प्रदेश नवसर्जक सम्मानबाट दैलेखका नवीन पाण्डे र सुदूरपश्चिम नवसर्जक सम्मानबाट कैलालीकी ऋष्टिना करियाप्रधान थारु सम्मानित हुने भएका छन् । उक्त पुरस्कारहरू प्रदेश १ बाट क्रमशः रुबिना शर्मा, रमेशमोहन अधिकारी, जयन्ती आचार्य, अर्चना दाहाल, डिबी बर्तौला, प्रभा पौडेल र पुश्कल नेपालले गर्नुभएको हो । सोलिड्यारिटी इन्टरनेसनल एकेडेमीको सभाहलमा आयोजना हुने उत्सव उद्घाटन सत्र र रचना वाचन सत्र गरी दुई चरणमा शनिबार बिहानैदेखि कार्यक्रम हुने जानकारी आयोजकले दिएको छ ।