Home कला झरनाद्वारा बकैयाका जनप्रतिनिधिहरूको सम्मान

झरनाद्वारा बकैयाका जनप्रतिनिधिहरूको सम्मान

हेटौंडाः मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरले आफ्नो २७८औं साहित्यिक श्रृङ्खलाअन्तर्गत शनिबार बकैया गाउँपालिकाबाट निर्वाचित पालिका अध्यक्ष, पालिका उपाध्यक्ष, वडाअध्यक्षहरु र कार्यपालिका सदस्यहरुलाई सम्मानपत्रसहित सम्मान गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐनको मर्म र भावनाअनुसार स्थानीय प्रज्ञा प्रतिष्ठानको काम गर्ने उद्देश्यले गत चैत १० गते कार्यपालिका बैठकबाट पारित ‘झरना–बकैया वाङ्मय प्रतिष्ठान’ को कार्यविधिअनुसार आगामी गाउँसभाबाट प्रतिष्ठानको ऐन पास गर्ने, कार्यविधि बमोजिम कार्यसमिति गठन गर्ने लगायतको कार्यभार पूरा हुने अपेक्षासहित सम्मान कार्यक्रम आयोजना गरिएको झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमले जानकारी दिनुभयो ।

कार्यक्रम बकैया गाउँपालिकाका निवर्तमान अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै उहाँले झरनाले गरेका गतिविधिहरूले बकैयालाई राष्ट्रिय रुपमा समेत चिनाउन सहज भएको उल्लेख गर्दै आगामी दिनमा ‘झरना–बकैया वाङ्मय प्रतिष्ठान’ को रुपमा पनि सक्रियतापूर्वक गतिविधि गर्नेमा आफू आशावादी रहेको बताउनुभयो ।

यसैगरी कार्यक्रममा मन्तव्य राख्दै बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले आफू कला, साहित्य र संस्कृतिको जगेर्ना गर्न तयार रहेको बताउँदै ‘झरना–बकैया वाङ्मय प्रतिष्ठान’ को बाँकी काम पनि चाँडै सम्पन्न हुने आश्वासन दिनुभयो । साथै चाँडै ‘झरना–बकैया वाङ्मय प्रतिष्ठान’को आफ्नै भवन निर्माणमा आफूहरुको तदारुकता रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

Exit mobile version