Home अर्थ/व्यापार औद्योगिक विकासमा सरकारले सहयोग गर्छः मुख्यमन्त्री पाण्डे

औद्योगिक विकासमा सरकारले सहयोग गर्छः मुख्यमन्त्री पाण्डे

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले औद्योगिक प्रस्ताव लिएर आए प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभएको छ । शुक्रबार नेपाल उद्योेग वाणिज्य महासंघ बागमती प्रदेशको पाँचौं प्रदेशसभामा बोल्दै मुख्यमन्त्री पाण्डेले स्वदेशी उद्योगको उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री पाण्डेले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने प्रस्ताव आफ्नै भएको दावी गर्नुभएको छ । स्वदेशी उद्योग सञ्चालन गरी हजारौंको संख्यामा रोजगारी सृजना गर्न सकिने भएकाले प्रस्ताव ल्याएको पाण्डेको भनाई छ । सरकारले वैदेशिक रोजगारीमा जाने वा स्वदेशमै काम गर्ने युवा मजदुर वर्गलाई सीप विकास तालिम दिने बताउनुभयो । अघिल्लो बर्ष ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रिएको भन्दै सीप प्राप्त व्यक्ति स्वदेशी वा वैदेशिक रोजगारीमा भए ३ गुणा बढी आयआर्जन गर्न सकिने पाण्डेको भनाई छ ।

उद्योग नहुनेहरु उद्योग महासंघको नेता हुन नहुने मुख्यमन्त्री पाण्डेले बताउनुभयो । आफ्नो उद्योगबाट उत्पादन नगर्ने, अरुको सामान बेच्ने भए नेपाल उद्योग वाणिज्य महासंघमा नेपाल उद्योग हटाएर वाणिज्य महासंघमात्र नामाकरण गर्दा हुने पाण्डेले बताउनुभयो । उद्योगी र सरकार प्रतिपक्षी नभई एउटै रथको दुई पाङ्ग्रा रहेको उहाँले बताउनुभयो । उद्योग क्षेत्रमा काम गर्ने कामदार, कर्मचारीलाई पाठशाला स्थापना गरी शिक्षित बनाउन उहाँले सुझावसमेत दिनुभयो ।
कार्यक्रममा उद्योगी व्यवसायीहरुले अर्थतन्त्रको तरलताले उद्योग व्यवसाय गर्न अप्ठ्यारो भएको बताएका छन् । व्याजदर वृद्धि गर्न बैंक पनि सहमत नरहेको उद्योगीहरुको भनाई छ । उद्योग वाणिज्य संघले सरकार र बैंकसँग समन्वय गरेपनि निश्कर्ष नपाएको उद्योगीले गुनासो गरेका छन् । व्याजदर वृद्धिले उत्पादन लागतमा दोब्बर लाग्ने गरेकाले व्याजदर घटाउन उद्योगी व्यवसायीले माग गरेका छन् । सरकारी कर्मचारी खुशी पार्न नसके आफ्नै पैसा लिन पनि अप्ठ्यारो हुने व्यवसायीहरुको गुनासो छ ।

मेला महोत्सव गर्न उद्योगीहरुलाई नै दिनुपर्ने उद्योगीहरुको माग रहेको छ । साना व्यापारीहरुले मेला महोत्सव गर्दा ठूला उद्योगीहरु मारमा परेकाले मेला महोत्सव सञ्चालनमा आधिकारिक ऐन नीति ल्याउनुपर्ने उहाँको भनाई छ । सरकारले उद्योग क्षेत्रलाई भाषणमा मात्र ल्याउने र प्रोजेक्ट नल्याउने गरेको उद्यमीहरुको आरोप छ ।

Exit mobile version