Home मुख्य समाचार सुर्तीजन्य पदार्थ उत्पादन नै नगरौं

सुर्तीजन्य पदार्थ उत्पादन नै नगरौं

मानिसका धेरै बानीमध्ये धुमपान परम्परागतरुपमा नै विकास भएको छ । नकारात्मक पक्ष भन्दा पनि यसले दिने तत्कालको आनन्द नै ठूलो मान्नेहरुको संख्या निकै छ । सुर्तीजन्य पदार्थ पदीयरुपमा जुनसुकै स्थानमा पुगेकाहरुको पनि प्रिय वस्तुका रुपमा छ । सुर्तीजन्य पदार्थको सेवनले व्यक्ति स्वयंलाई मात्र नभई वातावरणमा समेत खराब असर गर्ने भन्दै विश्व स्वास्थ्य संगठनले आपत्ति जनाइसकेको छ । तर नियन्त्रण वा रोकथामका लागि ठोस पहल कहीँ कतैबाट भएको छैन । बरु राज्यको सबैभन्दा बढी आम्दानीको श्रोतका रुपमा यसको प्रयोगलाई अघोषित प्रोत्साहन गर्ने काम भएको छ । सुर्तीजन्य पदार्थको खोलमा यसको खराब पक्ष लेखेर जति पनि बिक्री वितरण गर्न पाइने व्यवस्था नै गलत छ ।

सुर्तीजन्य बस्तुमा हुने रासायनिक पदार्थले व्यक्तिको स्वास्थ्यमा पुग्ने असरबारे जनजेतना नपुगेको हैन । यसको लतमा फसेपछि जाने बुझेकाहरुले पनि यसबाट बाहिर निस्कन सकेका छैनन् । ‘सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नाराले मानिसहरुमा कस्तो प्रभाव पार्ला ? व्यक्तिले सुर्तीजन्य पदार्थ सेवन गर्दा वातावरणमा कस्तो असर पर्दछ भन्ने जानकारी धेरै मानिसलाई छैन । सुर्तीजन्य पदार्थ सेवनका कारण निस्कने हरितगृह ग्यासले वायु प्रदूषण बढाउने हुँदा व्यक्तिको स्वास्थ्य र वातावरण सुरक्षित राख्न धुमपान त्याग्नुपर्ने चिकित्सकहरुको सुझाव छ । बर्षमा एक दिन दिवस मनाउनका लागि मात्र सुझाव वा अभियान सञ्चालन हुने गर्दछन् । सुर्तीजन्य पदार्थको कुलतबाट आम नागरिकलाई जोगाउने हो भने अभियान प्रत्येक दिन आवश्यक छ ।

सुर्तीजन्य पदार्थको सेवनबाट मानिसको फोक्सोमा क्यान्सरको सम्भावना छ । खराब उदाहरणकै भरमा मानिसले लागेको बानी छोड्ने पक्षमा देखिँदैन । नयाँ पुस्तालाई चाहिँ यसको कुलतबाट कसरी जोगाउने भन्ने पक्षबाट आजको बहस अघि बढ्न जरुरी छ । नेपालमा मृत्यु हुनेहरुको संख्यामा २३ प्रतिशतभन्दा बढी सुर्तीजन्य पदार्थकै प्रयोगको कारण छ । सुर्तीजन्य पदार्थमा चुरोट बढी मात्रामा प्रयोग भएको देखिन्छ । फोक्सोको क्यान्सरबाट मृत्यु हुनेमा पुरुष १८ प्रतिशत र महिला ७.७ प्रतिशत रहेका छन् । सन् २०१९ मा गरिएको नसर्ने रोगको सर्वेक्षणमा ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिलाहरुले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको देखाउँछ । यो तथ्यांकले नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग दैनिकरुपमा बढ्दै गएको देखिन्छ । विशेषगरी बेरोजगार युवाहरु यसको कुलतमा बढी पर्ने गरेको पाइन्छ ।

व्यक्तिको स्वास्थ्यको पक्ष रोजगारी, धनी, गरिबसँग सम्बन्ध राख्दैन । तर अन्य काम नभएपछि कुलतमा फस्नु प्राकृतिक नियम नै हो । त्यसैले जोकोही व्यक्तिले पनि आफूलाई कुनै पनि कार्यमा व्यस्त राख्ने प्रयास गरे यस प्रकारको कुलतमा फस्ने सम्भावना कम हुन्छ । कुलतमा फसेकाहरुलाई सुर्तीजन्य पदार्थबाट कस्तो असर परिरहेको छ भन्नेबारे जानकारी नभएको हैन । जानकार हुँदाहुँदै पनि आफूलाई अनुशासनमा राख्न नसक्दा कुलतको शिकार भएको अवस्था छ । यसका लागि बर्षमा एक दिन औपचारिकताका लागि अभियान सञ्चालन गर्ने भन्दा बनेका नियम कानुनलाई कडाईका साथ कार्यान्वयन गर्ने र विशेषगरी उत्पादन तथा बिक्री वितरणमा नै प्रतिबन्ध लगाउने हो भने केही हदसम्म न्यूनीकरण हुनेछ ।

Exit mobile version