Home मुख्य समाचार विश्व सुर्तीजन्य पदार्थरहित दिवसमा प्रभातफेरी

विश्व सुर्तीजन्य पदार्थरहित दिवसमा प्रभातफेरी

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा मंगलबार प्रभातफेरी कार्यक्रम भएको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय, नेपाल अर्वुद रोग निवारण संस्था र श्रीकृष्ण प्रणामी युवा परिषद् मकवानपुरको संयुक्त आयोजनामा प्रभातफेरी कार्यक्रम भएको हो ।

‘दुव्र्यसन त्यागौं, सेवामुखी बनौं, सुर्तीजन्य पदार्थ त्यागौं स्वास्थ्य र वातावरण जोगाऔं’, भन्ने नारासहित विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा सचेतनामूलक प्रभातफेरीको आयोजना गरिएको हो । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. महेश्वर श्रेष्ठको नेतृत्व तथा बागमती प्रदेश स्वास्थ्य मन्त्री निमा लामाको उपस्थितिमा कार्यक्रम गरिएको हो । स्वास्थ्य निर्देशनालयबाट सुरु भएको प्रभातफेरी बुद्धचोक, लोकप्रिय चोक, मानसचोक, कांग्रेसचोक, कान्तिराजपथ, पारिजातपथ, सिमाचोक हुँदै बुद्ध चोकमा पुगेर सडक नाटक प्रदर्शन गरिएको थियो । मद्यपान तथा सुर्तीजन्य पदार्थ सेवनले के–कस्तो रोग लाग्छ र यसले घर परिवारमा निम्त्याउने झैगडाका बारेमा नाटक मार्फत प्रस्तुत गरिएको थियो ।

निर्देशक डा. महेश्वर श्रेष्ठले उक्त कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेपालमा २८ लाख भन्दा बढि व्यक्तिहरुले सुर्ती सेवन गर्ने गरेको जानकारी दिनुभयो । सुर्तीजन्य पदार्थ विरुद्व जनचेतना जगाउन सबैको दायित्व रहेको बताउनुहुँदै उहाँले सुर्ती सेवनबाट फोक्सो र कलेजोमा क्यान्सर जस्ता गम्भीर प्रकृतिका रोग लाग्ने जोखिम रहने उहाँले औँल्याउनुभयो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, मकवानपुर टेक्निकल इन्स्टिच्युट लगायत विभिन्न संघ, संस्थाहरुका प्रतिनिधिको सहभागिता तथा सहकार्यमा दिवस मनाइएको हो ।

Exit mobile version