हेटौंडाः पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि बिरुद्ध नेकपा एमाले निकट अनेरास्ववियु मकवानपुरले आज सिट्ठी र्याली गरेको छ । मकवानपुर बहुमुखी क्याम्पसबाट अनेरास्ववियु अध्यक्ष आशिष रौनियारको नेतृत्वमा र हेटौंडा क्याम्पसबाट अनेरास्ववियु हेटौंडा क्याम्पस संयोजक अभि मैनालीको नेतृत्वमा र्याली सुरु भई बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
र्यालीमा सहभागीहरुले सिट्ठी फुक्दै नाराहरु लगाउँदै नगर परिक्रमा गरेका थिए । उक्त कार्यक्रममा मूल्यवृद्धि फिर्ता गर, नालायक सरकार राजिनामा दे, जनता मार्न पाईदैन, अनेरास्ववियु जिन्दावाद, भ्रष्ट सरकार राजीनामा दे, सडक हामी तताउँछौ, मूल्यवृद्धि घटाउँछौ, गठबन्धन सरकार मुर्दाबाद भन्दै नाराहरु लगाएका थिए । कोणसभा कार्यक्रममा अनेरास्ववियु मकवानपुर जिल्ला अध्यक्ष बिशाल पौडेलले आन्दोलनको राप ताप यसै नसकिने भन्दै बेलैमा पेट्रोलियम पदाथको मूल्यवृद्धि फिर्ता नलिए सरकारले ठुलो मुल्य चुकाउनु पर्ने बताउनु भएको छ । अहिले पेट्रोलियम पदार्थ लगायत खाद्यान्नमा भएको मूल्यवृद्धिले सर्वसाधारण जनता ठूलो मारमा परेको पौडेलको भनाई छ । मूल्यवृद्धि बिरुद्ध फिर्ता नभएसम्म निरन्तर आन्दोलन गरिरहने उहाँले बताउनु भयो । र्यालीमा जिल्ला खेलकुद महासंघ मकवानपुरको अध्यक्ष सविन मुक्तानको नेतृत्वमा समितिका पदाधिकारीहरुको पनि सहभागिता थियो ।
