Home मुख्य समाचार समृद्ध समाज दैनिक ‘क’ वर्गमा

समृद्ध समाज दैनिक ‘क’ वर्गमा

हेटौंडाः हेटौंडाबाट प्रकाशित हुँदै आएको समृद्ध समाज दैनिक प्रेस काउन्सिल नेपालको वर्गीकरणमा ‘क’ वर्गमा कायम भएको छ । आर्थिक बर्ष २०७६/७७ को बार्षिक मूल्यांकनको पुनरावलोकनमा समृद्ध समाज दैनिक ‘क’ वर्गमा कायम भएको हो । प्रेस काउन्सिलले बुधबार पुनरावलोकनको नतीजा सार्वजनिक गरेको हो ।

यसअघि गत माघ महिनामा आर्थिक बर्ष २०७५/७६ र आर्थिक बर्ष २०७६/७७ को संयुक्तरुपमा वर्गीकरणको नतीजा सार्वजनिक गर्ने क्रममा समृद्ध समाज दैनिक ‘ख’ वर्गमा वर्गीकृत भएको थियो । काउन्सिलले वर्गीकरणको नतीजा प्रकाशनसँगै पुनरावलोकनका लागि निवेदन समेत आव्हान गरेको थियो । काउन्सिलको आव्हान बमोजिम नै समृद्ध समाज दैनिकले पुनरावलोकनका लागि निवेदन दिएको थियो ।

प्रेस काउन्सिलको पुनरावलोकनको नतीजाअनुसार समृद्ध समाज दैनिक ‘क’ वर्गमा कायम भएकोमा प्रकाशक/सम्पादक सुरेश श्रेष्ठले खुसी व्यक्त गर्नुहुँदै स्थानीय समाचार र विचारलाई प्राथमिकता दिएर निरन्तर गर्दै आएको मिहिनेतको मूल्यांकन भएको बताउनुभएको छ । १२ बर्षदेखि हेटौंडाबाट प्रकाशित समृद्ध समाज दैनिकले स्थानीय जनचासोका विषयमा लेख्दै आएको समाचार र प्रस्तुत गर्दै आएको विचारहरुको आम पाठकले प्रशंसा गर्दै आएको र प्रेस काउन्सिलले पुनरावलोकनको क्रममा पाठकको मूल्यांकनलाई सम्मान समेत गरेको सम्पादक श्रेष्ठको भनाइ छ ।

Exit mobile version