Home अन्तरवार्ता मिहिनेतअनुसार परीक्षा राम्रो भएको छ

मिहिनेतअनुसार परीक्षा राम्रो भएको छ

विद्यालय शिक्षाको महत्वपूर्ण खुटकिला मानिएको एसईई परीक्षा भर्खरै सकिएको छ । एसईई परीक्षा र परीक्षापछिको योजना एवम् भविष्यमा अध्ययन गर्ने विषयलगायतका बारेमा एसईईमा सहभागी विद्यार्थीहरु नवोदय शिशु सदनकी निकिता खुलाल एवम् बालजागृति इङ्गलिस स्कूलका इसिका श्रेष्ठ र श्रेयम रेग्मीसँग समृद्ध समाजका लागि डीबी बर्तौलाले गर्नुभएको कुराकानीः

समाजः एसईई परीक्षा कस्तो भयो ?
इसिकाः एसईइ परीक्षा रामै्र भयो । आफूले जति मिहिनेत गरेको थिएँ, त्यति लेख्न सफल भएँ । आफूले सोचेजस्तो सबै कहाँ हुन्छ र ? तर पनि जति परिश्रम गरेको थिएँ, त्यति परीक्षामा राख्न सफल भएको छु भन्ने पूर्ण विश्वास लागेको छ ।

श्रेयमः मेरो पनि परीक्षा मिहिनेत गरेअनुसारको राम्रै भएको छ । आफूले गरेको मिहिनेतलाई मैले पनि परीक्षामा उतार्न सफल भएको छु । अब परिणाम कस्तो आउला भन्ने मात्र हो । आफूले गर्न सक्ने जति त दिएकै छु ।

निकिताः मेरो एसईई राम्रै भयो । कुन स्कूलमा पर्ने हो, साइडमा कस्तो मान्छे पर्ने हो, प्रश्न कस्तो आउला, सोचेजस्तो गर्न सक्छु कि सक्दिन भन्ने विभिन्न टेन्सनहरु हुँदाहुँदै पनि ओभरअल एसईईको पेपर राम्रै गयो मेरो ।

समाजः एसईईको परीक्षा दिने बेला डर कत्तिको थियो ?
इसिकाः डर त अलि थियो नै भनौं । किनकि आइरन गेट मानिन्छ, एसईईलाई । तर पनि डरहरुको सामना गरेर वर्षभरिको आफ्नो मिहिनेत परीक्षामा उतार्ने हो । डरको सामना गरेर मैले सबै परीक्षाहरु आफ्नै हौसलाले दिएकी छु ।

श्रेयमः अब परीक्षा भन्नेबित्तिकै सबै परीक्षामा डर त लागि नै हाल्छ । एसईई भनेको हाम्रो १२ वर्षको परिश्रम देखाउने परीक्षा मानिन्छ । यसमा डर नलाग्ने कुुरै हुँदैन । तर जति डर भए पनि मैले आफूले गरेको मिहिनेत आफ्नै हौसलामा राम्रोसँग राखेको छु । अब नजिता पनि राम्रै आउने आशा छ ।

समाजः परीक्षाको सन्दर्भमा तपाईं फरक विद्यालयमा जानुभयो, फरक शिक्षकको अगाडि फरक विद्यार्थीको माझमा रहँदा तपाईंको अनुभूति कस्तो रह्यो ?
इसिकाः पक्कै पनि फरक विद्यालय थियो, फरक वातावरण, फरक शिक्षकहरु भएता पनि परीक्षा दिने भनेको हामीले हो । पहिलो दिन अलिअलि के होला, कस्तो होला भन्ने डर र जिज्ञासा थियो । त्यही डर र जिज्ञासामै आफूले परीक्षा दिएको थिएँ ।

समाजः कस्तो खालको अपेक्षा राख्नु भएको छ ? नतिजा कस्तो आउला ?
श्रेयमः आफूले मिहिनेतमा कुनै कमी राखेको छु जस्तो त लागेको छैन । अब परिणाम कस्तो आउला भन्ने कुरामा मिहिनेत गरेअनुसार त परिणाम राम्रै आउनुपर्छ । तर जस्तो परिणाम आए पनि म खुशी नै हुनेछु, किनकि त्यो आफ्नै मिहिनेतको परिणाम हो ।

समाजः परिवारको चाहिँ कस्तो अपेक्षा रहेको छ ?
निकिताः अब सबैको परिवारमा आफ्नो सन्तानले राम्रै गरोस् भन्ने त हुन्छ नै । मेरो परिवारले पनि त्यस्तै सोच्नुहुन्छ । छोरीले केही गर्छ कि, ठूलो ईच्छा राखेर होइन कि, यो समाजको लागि केही योगदान दिन सक्छ कि, आफ्नो परिवारको शिर उचो राखेर परिवारको लागि केहि गर्छ कि भन्ने चाहिँ ठूलो धोको छ ।

समाजः नतिजा आइसकेपछि के लिएर पढ्ने ? कसरी अघि बढ्ने योजना छ ?
इसिकाः मेरो योजनाचाहिँ अब केहि समयको ग्याप छ, त्यो समयमा बृजकोर्षहरु गर्ने, नयाँनयाँ सीपहरु सिक्ने छ । केहि पढ्नैपर्छ भन्दा पनि जीवनमा चाहिने केहि जीवनउपयोगी सीपहरु सिक्नु राम्रो हुन्छ र नतिजा आइसकेपछि आफ्नो के ईच्छा छ, आफूले कुन विषयमा राम्रो गर्न सक्छु जस्तो लाग्छ, आफ्नो नतिजा, सोच विचार र आफ्नो इच्छाअनुसार विषय छनौट गरेर अघि बढ्ने विचार छ ।

समाजः भोलिका दिनमा कलेज गएर कुन विषयमा कुन फ्याकेल्टी लिई अध्ययनलाई कसरी अघि बढाउने सोचमा हुनुहुन्छ ?
श्रेयमः मेरो ईच्छा भनेको साइन्स विषय लिने हो । अब कलेजमा स्कूलको जस्तो त पक्कै पनि हुँदैन । तर स्कूलजस्तो नभए पनि आफूले मिहिनेत गरेर त्यस विषयलाई अलि राम्रोसँग मिहिनेत गरेर अघि बढ्ने कोशिस गर्नेछु ।

Exit mobile version