हेटौंडाः आसन्न स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएको भन्दै नेकपा एमाले मकवानपुरले बागी उम्मेदवारी दिने आफ्ना संगठित सदस्यहरुलाई कारवाही गरेको छ । पार्टीको संगठित सदस्य हुँदाहुँदै जिल्लाको विभिन्न स्थानीय तहमा पार्टीको निर्णय विपरित उम्मेदवारी दिएर फिर्ता नलिएको भन्दै कारवाही गरिएको नेकपा एमाले मकवानपुरले जनाएको छ ।
पार्टी निर्णय उल्लङ्घन गरेको भन्दै मकवानपुरगढी गाउँपालिकाका कृष्ण कँडेल, हेटौंडा उपमहानगरपालिका वडा नं. ५ का विशालराज महत, वडा नं. ११ का अक्कलबहादुर क्षेत्री, हेटौंडा–१९ का रत्नबहादुर व्लोन र रमेश पौडेलसहित उनीहरुको प्रस्तावक तथा समर्थकलाई समेत पार्टीको विधानको धारा ८० (६) अनुसार पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिनुभयो । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै कारवाही गरिएको जानकारी गराइएको छ ।
यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेको आधिकारिक उम्मेदवार खडा गरेको अवस्थामा पार्टीको निर्णय नमान्दै बागी उम्मेदवारी दिएको र आवश्यक समन्वय गर्दासमेत उम्मेदवारी फिर्ता नलिएकाले कारवाही गर्नुपरेको उहाँको भनाइ छ । नेकपा एमालेलाई पराजित गर्न दक्षिणपन्थी शक्ति नेपाली कांग्रेसको नेतृत्वमा एमाले विरोधी राजनीतिक दलहरु एकठाउँमा उभिएको सन्दर्भमा नेकपा एमालेको संस्थागत निर्णय अनुसारनै पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा एमालेलाई विजयी गराउनका निम्ती पार्टी चुनावी मैदानमा प्रतिष्पर्धा गरिरहेको बताउनुहुँदै अध्यक्ष श्रेष्ठले पार्टी निर्णयलाई उलङघन गर्दै केही पदमा पार्टी सदस्यहरुले उमेदवारी दिएको जानकारी प्राप्त भए लगत्तै पार्टीको आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिन पार्टीले गरेको निर्देशनलाई अवज्ञा गर्ने मात्र हैन उल्लङ्घन गर्ने काम भएको बताउनुभयो ।
