हेटौंडाः आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने गरी मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईसहित २६ जनाले शुक्रबार राजीनामा दिएका छन् । गाउँपालिकाले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार गाउँपालिका अध्यक्ष हुमागाईसहित १ नम्बर वडा अध्यक्ष आइत सिं लो, २ नम्बर वडा अध्यक्ष बखान सिंह पाख्रिन, ३ नम्बर वडा अध्यक्ष भागवत घिमिरे, ५ नम्बर वडा अध्यक्ष जीतबहादुर घिमिरे, ७ नम्बर वडा अध्यक्ष सूर्यबहादुर रुम्बा र ८ नम्बर वडा अध्यक्ष कुमार सिं घिसिङ रहेका छन् ।
यस्तै कार्यपालिका सदस्य पातलीमाया गोले, निर्मला बिश्वकर्मा, मञ्जुकुमारी योन्जनसहित १ नम्बर वडा सदस्य सुवात सिं थिङ तामाङ, २ नम्बर वडा सदस्य शिवप्रसाद न्यौपाने, ३ नम्बर वडा सदस्य विमला सुनार, प्रेमबहादुर थोकर, ४ नम्बर वडा सदस्य सानुकान्छा मुक्तान, धनबहादुर लामा, सन्तु थिङ, संगीता कुमारी परियार, ५ नम्बर वडा सदस्य सुकुराम थिङ, ६ नम्बर वडा सदस्य रनकुमारी परियार, शेरबहादुर पाख्रिन, ७ नम्बर वडा सदस्य प्रतिमान रुम्बा, सानोकान्छा मोक्तान, मैयादेवी बिक, ८ नम्बर वडा सदस्य गोकुलप्रसाद देवाकोटा र गमला बिकले पनि राजीनामा दिनुभएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले शुक्रबार नै एक सूचना जारी गरी राजीनामा दिने जनप्रतिनिधिहरुको सूचि सार्वजनिक गर्नुभएको हो ।
गाउँपालिका अध्यक्ष विदुर हुमागाई दोस्रो कार्यकालका लागि एमालेबाट अध्यक्षको उम्मेदवार बन्दै हुनुहुन्छ । यस्तै राजीनामा दिने वडा अध्यक्षहरु पनि दोस्रो कार्यकालका लागि वडा अध्यक्षको उम्मेदवार हुने तयारीमा छन् । निर्वाचन आयोगले जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्ने व्यवस्था गरेसँगै उम्मेदवार हुन चाहने जनप्रतिनिधिले देशभर राजीनामा दिने लहर चलेको छ । यसैबीच निर्वाचन आयोगले आज आइतबार र भोलि सोमबार दुईदिन उम्मेदवारी दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
