Home मुख्य समाचार केन्द्रीय समितिको सहमतिको विपक्षमा कांग्रेस हेटौंडा उपमहानगर समिति, मित्रवत् प्रतिस्पर्धा गर्ने...

केन्द्रीय समितिको सहमतिको विपक्षमा कांग्रेस हेटौंडा उपमहानगर समिति, मित्रवत् प्रतिस्पर्धा गर्ने घोषणा

पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै कांग्रेस हेटौंडा उपमहानगर समितिका सभापति उत्सव इटेनी ।

हेटौंडाः आसन्न स्थानीय तहको निर्वाचनमा ५ दलीय गठबन्धनमा नेपाली कांग्रेस केन्द्रीय समितिले गरेको सहमतिको विपक्षमा कांग्रेस हेटौंडा उपमहानगर समिति उभिएको छ । गठबन्धन दलबीच हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी रहने निर्णय भएकोप्रति कांग्रेस हेटौंडा उपमहानगर समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका सभापति उत्सव इटेनीले जारी गर्नुभएको विज्ञप्ति ।

कांग्रेस हेटौंडा उपमहानगर समितिले मंगलबार हेटौंडा उपमहानगरका १९ वटै वडा सभापतिको उपस्थितिमा बैठक गरेर मित्रवत् प्रतिस्पर्धामा जाने निर्णय समेत गरेको दावी गरेको छ । बुधबार कांग्रेस हेटौंडा उपमहानगर समितिले पत्रकार सम्मेलन गरेर पालिकास्तरमै गठबन्धन दलबीच छलफल चलिरहँदा केन्द्रीय समितिले स्थानीय मर्म र भावनालाई बेवास्ता गर्दै केन्द्रमा सहमति भएको जनाएको छ ।

नगरको गठबन्धनमा आवद्ध दलहरुमध्ये सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको नेतृत्वमा चुनावमा सहभागी हुन गठबन्धनका दलहरु समेत तयारी रहेको अवस्थामा केन्द्रीयस्तरमा भएको भागबण्डाले गठबन्धनको आवश्यक्ता र औचित्य समेत पूरा गर्न नसक्ने दावी पनि उपमहानगर समितिले गरेको छ । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका सभापति उत्सव इटेनीले विज्ञप्ति नै जारी गर्नुभई केन्द्रीय गठबन्धनको निर्णयप्रति असहमति जनाउनुभएको छ ।

Exit mobile version