Home खेलकुद लिग विजेता मच्छिन्द्रलाई हराउँदै मकवानपुरको पिप्ले युवा क्लबलाई उपाधि

लिग विजेता मच्छिन्द्रलाई हराउँदै मकवानपुरको पिप्ले युवा क्लबलाई उपाधि

हेटौंडाः ‘ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लबलाई हराउँदै मकवानपुरको पिप्ले युवा क्लबले छैठौं राजर्षी गोल्डकपको उपाधि जितेको छ । साविक विजेता पिप्लेले सडन डेथमा मच्छिन्द्रलाई पराजित गरेको हो । पिप्लेका गोलरक्षक अशोक बरालको उत्कृष्ट बचाउसँगै पिप्ले लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो । उपाधिसँगै पिप्ले युवा क्लबले नगद १० लाख रुपैयाँ जितेको छ भने उपविजेता मच्छिन्द्रले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

९० मिनेटको निर्धारित समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । पेनाल्टीमा पनि ३–३ गोलको बराबरी भएपछि सडन डेथको पहिलो प्रहारमै पिप्ले विजयी भएको हो । सडन डेथमा मच्छिन्द्रका छिरिङ गुरुङको प्रहार क्रसबारमा लागेर फर्किएपछि पिप्लेका रुपमबहादुर लामाले प्रहार गरेको गोल नै निर्णायक सावित भयो ।

पेनाल्टीमा मच्छिन्द्रको तर्फबाट बिमल घर्ती मगरको पहिलो प्रहार नै रोक्न सफल पिप्लेका गोलरक्षक अशोक बरालले पेनाल्टीमा पछि परेको स्थितिमा मच्छिन्द्रका देवेन्द्र तामाङको अन्तिम प्रहार पनि रोकेका थिए । मच्छिन्द्रको तर्फबाट सुजल श्रेष्ठ, विजय धिमाल र अफ्रिकी खेलाडी करिमको प्रहार गोलमा परिणत भएको थियो ।

पिप्ले युवा क्लबका अशोक खवास, समीरराज थोकर र अमीर श्रेष्ठको प्रहार गोलमा परिणत हुँदा कुलदीप कार्कीको प्रहार क्रसबारभन्दा माथिबाट बाहिरियो । यस्तै अफ्रिकी खेलाडी मार्टिन्सको प्रहार मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले रोकेका थिए । फाइनल खेलको म्यान अफ द म्याच अशोक बराल घोषित भए ।

प्लेयर अफ द टुर्नामेन्ट पिप्ले युवा क्लबका रुपबहादुर लामा घोषित भएका छन् । उनले ५१ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक पिप्लेका सुविन घिमिरे, उत्कृष्ट स्ट्राइकर मच्छिन्द्रका बिमल घर्ती मगर, उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट डिफेन्डर बागमती युवा क्लबका अमर श्रेष्ठ र उत्कृष्ट मिडफिल्डर मच्छिन्द्रका सुजल श्रेष्ठ घोषित भए ।

Exit mobile version