Home मुख्य समाचार प्रहरी हबल्दार बस्नेत बने प्रदेशका सर्बोत्कृष्ट प्रहरी

प्रहरी हबल्दार बस्नेत बने प्रदेशका सर्बोत्कृष्ट प्रहरी

हेटौैंडाः बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी हबल्दार यमकुमार बस्नेतलाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखामा कार्यरत प्रहरी हबल्दार बस्नेतलाई बुधबार फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । हबल्दार बस्नेतलाई प्रदान गरेको जिम्मेवारी इमानदारी एवम् प्रशंसनीय ढङ्गबाट सम्पादन गरेको जनाइएको छ ।

फागुन १३ गते दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–३ जलदेवी मन्दिर नजिकै जंगलमा दुवै हात, खुट्टाहरु र अनुहारमा सेता कपडाको टेपले बाँधिएर मृत अवस्थामा फेला परेको सोही नगरपालिका २ नम्बर वडाका १६ बर्षीय साहिल तामाङको घटनामा संलग्न रहेका तीन जना बालकहरुलाई विशेष सुचना संकलन गरी पक्राउ गर्न सफल भएको, फाल्गुन १४ गते बा ५ ख २४१२ नम्बरको ट्रकलाई सल्लाको तयारी खापा ३० थानसहित चालकलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको लगायत कार्यको मुल्याङ्कन गर्दै बस्नेतलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको जनाइएको छ ।

प्रदेश प्रहरी कार्यालयले हरेक महिना प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित गर्नुका साथै मातहतका इकाईलाई पनि इकाईगतरुपमा महिनाको उत्कृष्ट प्रहरी कर्मचारी घोषित गरी प्रोत्साहित गर्न निर्देशन दिएको छ ।

Exit mobile version