Home विचार “ज्याक अफ अल ट्रेड्स —माष्टर अफ नन” एक गम्भिर समस्या बन्दै

“ज्याक अफ अल ट्रेड्स —माष्टर अफ नन” एक गम्भिर समस्या बन्दै

वंशगोपाल मावि हेटौंडाका प्रधानाध्यापक (प्रअ) रमेशप्रसाद लामिछाने ।

१. आफूलाई कमजोर र नजान्ने भनाउन शायदैले रुचाउँछन् । प्रत्येक विषय र क्षेत्रमा प्रसंग उठ्ने बित्तिकै लगातार बोलिरहने आदत हामी धेरैजसोको छ नै । अर्काले बोलेको सुन्नै नचाहने तर आफूले बोल्दा अरु शान्तपूर्वक सुनिरहुन ठान्ने संस्कारले हामीलाई जकडेको छ । आफूलाई फाईदा हुने कुरा र काम छ भने कुनै पनि प्रकारले त्यो आफैंले गर्नेगरि मिलाउने कसरतमा लाग्ने स्वभाव समस्या बन्दै गएको छ । विषयगत विज्ञहरुको यहाँ मुल्य हुँदैन । एउटा शिक्षक, शिक्षक मात्र नभै एकै दिनमा आफ्नो पेशाको अतिरिक्त एक राजनीतिज्ञ, जनप्रतिनिधि, ब्यवसायी, प्रशासक, पत्रकार, विद्यार्थी, कर्मचारी, डाक्टर, ईन्जिनियर, सामाजिक कार्यकर्ता, किसान, आदि सबैको भूमिकामा प्रस्तुत हुन भ्याउँछ । त्यस्तै एउटा नेता एकैक्षण पनि नेता बनिरहन सक्दैन । एकै दिनमा दशवटा पेशाको प्रतिनिधित्व गर्नैपर्ने प्रेसर जस्तो बुझिन्छ । सबै पेशा, वर्ग र तहमा यो समस्या देख्न सकिन्छ ।

२. एउटा नेता विद्यालयको कार्यक्रममा भाषण गर्दा शिक्षक नै बन्नुपर्ने होइन , नेताकै ठाउँमा रहेर बोल्दा राम्रै हुन्छ । कृषकहरुको कार्यक्रममा किसान भन्ने, कर्मचारीकोमा गए कर्मचारी नै बन्ने, विद्यार्थीकोमा बोल्न परे विद्यार्थी नै हुने जस्ता प्रवृत्तिलाई कुनैपनि कोणबाट उपयुक्त भन्न सकिन्न । शिक्षकको काम शिक्षकले गर्ने हो, नेताले होइन। जो ब्यक्ति जुन कामको लागि तोकिएको छ, त्यहि काममा विशिष्टता हासिल गर्दा नै ब्यक्ति र राष्ट्रको प्रगति सम्भव हुन्छ । जानकारी लिन खोज्नु र ज्ञानको दायरा बढाउनु भिन्न विषय हो, यो काममा कतै आलोचना हुँदैंन । यो ज्ञान र सीपसंग जोडिएको सबाल हो । यो सिकाई लक्षित हुन्छ तर भूमिका र प्रतिनिधित्व भनेको विषयगत दक्षता हुनै पर्छ । एउटा शिक्षक , शिक्षक मात्र बनेर सिकाउने काममा ब्यस्त रहँदा नै बिस्तारै शिक्षणमा नै विशिष्टता हासिल गर्न सहज हुन्छ । दशवटा पेशाको वकालत गर्दै हिंड्दा विषयगत पक्ष कमजोर त बन्छ नै ,संगै अज्ञानता र अल्पज्ञानका कारणले बिस्तारै विश्वसनियता गुमाउँदै जाने तथ्यमा बिमति छैन ।

३. सिपालु बनेर धेरै विषयका कुरा गर्दा ठूला भनिएका उच्च पदासिन ब्यक्तिहरु पाईलैपिच्छे हास्यपात्र बनेका उदाहरण हामीसंग अनेकौं छन् । प्रत्येक मान्छे डाक्टरको भूमिकामा औषधी सिफारिस गर्न थाल्ने हो भने बिरामीको नतिजा के होला अनुमान गर्न सकिन्छ । सबै मान्छे ड्राईभर वा पाईलटको सिटमा बस्दा यात्रुको हविगत भनिरहन नपर्ला । शिक्षकको काम शिक्षण गर्ने नै हो । आफूले जानेको र गरेको पेशामा नै दक्षता विशिष्टता हासिल गर्ने विज्ञहरुको नै दुनियाँमा महत्वपूर्ण स्थान हुन्छ । खोज अनुसन्धान भनेको एकाध महिना वा वर्षको प्याकेज होइन । दशकौं वर्ष अनि सि¨जीवन नै कुनै चराको अध्ययन गरेर विज्ञ बनेका ब्यक्तिको जीवनी हामीले पढेका छौं । त्यस्तै सर्प, भ्यागुत्ता, छेपारो, किरा, भाईरस, वाघ, हात्ती, मानव आदिका जाति प्रजातिका विषयमा खोजकर्ता वा अनुसन्धानकर्ताले अध्ययन नगरेको भए आज हामीले ती प्राणीका बारेमा गरिने अनुमानले उपहासका पात्र त बन्ने नै थियौं संगै हाम्रो ज्ञानको दायरा कमजोर र सिमित हुने तथ्यमा शंका छैन । त्यसैले त विषय विज्ञहरुको आवश्यकता प्रत्येक देश, काल र परिस्थितिमा अनिवार्य बनेको छ ।

४. पौडिने सीप नभएको मान्छे नदी वा तलाउमा जम्प गरे जस्तै एउटा किसान तत्कालै शिक्षक बनेर गफ छाँटने, शिक्षकले किसान बनेर किटनाशक औषधी हाल्न थाल्ने, नेताले ईन्जिनियर बनेर बाटो र पुलको डिजाईन गर्ने , वकिलले गाईभैंसीलाई भ्याक्सिन दिने, मन्त्रिले बिरामीको प्रेस्क्रिप्सन लेख्ने, डाक्टरले नेता झैं घण्टौं भाषण गर्ने जस्ता कामले परिणाम हानीकारक मात्र हैन मासिने स्थिति स्पष्ट बन्दछ । सबै मान्छे गित गाउन थाल्ने हो भने गायकको आवश्यकता पर्ला र ? Little knowledge is dangerous यस्तै सन्दर्भमा भनिएको हुन सक्छ । त्यस्तै कलाकार, साहित्यकार,चित्रकार, नेता, अभिनेता, वैज्ञानिक, आदि जन्मजात कला, गला र सीपले युक्त भएकाहरुको क्षमता अनि दक्षताले ख्यातिप्राप्त बनेकाहरुको नै इतिहास, वर्तमान र भविष्य हुने हो । औसतहरु स्वभाविकरुपमा क्षणिक उपस्थिति जनाउँदछन् र हराउँछन् ।

५. विषयगत र पेशागत सीपमूलक दक्षता र क्षमता एक समृद्ध राष्ट्रको पहिलो शर्त हो । नृत्यकारले नाच्ने नै हो, ब्यापार गर्ने होईन । नृत्य संग गायन जोडिन सक्छ तर कृषिको कुनै साईनो हुँदैन । शिक्षा संग साहित्य जोडिन सक्छ तर बस, जहाज तथा रेल चलाउने कलासंग कुनै सम्वन्ध हुँदैन । एक टेलिभिजनको प्रस्तोताले समाचार वाचन गर्न सक्छ तर टिभिमा नै नाच्न गाउन थाल्ने हो भने त्यो तमाशा मात्र बन्न सक्छ । हाम्रो ध्यान नगएको वा जानकारी भएर पनि बेवास्ता गरिएको यस्तै विषयहरु बिस्तारै समस्या बनिरहेका छन् । एकै ब्यक्ति एकै छानामुनि मालिक र मजदूर बन्ने बनाउने काम कहिलेसम्म उपयुक्त छ भनेर बसिरहने ? यो आजको सबाल हो । एक नेता वा मन्त्रि बहकिएर मौका पर्नासाथ कार्यकर्ता र मतदाताको स्थानमा ओर्लनुलाई शोभनिय मान्न सकिदैन। त्यस्तै शिक्षक कक्षाकोठामा शिक्षक नै हो , उ त्यहाँ विद्यार्थी हुनै सक्दैन । शिक्षकले शिक्षाका प्रशासकहरुको काम गर्न जरुरी छैन । अनि शिक्षाका प्रशासकहरु प्रशासनमै रहने हो, शिक्षक बनेर क्षणिक अभिनयमा आउनुको अर्थ छैन ।

६. प्राथमिक शिक्षकको योग्यता एसएलसी हुँदा विषयगत विशिष्टता नहुने कारणले उक्त तहको शिक्षकले कुनैपनि विषय पढाउनु सिकाउनु पर्ने भनिन्थ्यो जुन ब्यवहारमा आज सम्म पनि कायमै छ । शिक्षामा यो एक समस्या नै थियो र छ । अंग्रेजी तथा गणित जस्ता विषयमा मुस्किलले उत्तिर्ण गरेका शिक्षकका लागि सोहि विषय पढाउन दिने अनि गुणस्तर खोज्ने हाम्रो शिक्षा मन्त्रालय विरोधाभासको विवादास्पद घेरामा जेलिएको भन्नै पर्छ । पछिल्लो समयमा आधारभूत तहको कक्षा ५ सम्म पढाउन कक्षा १२ उत्तिर्ण र कक्षा ८ सम्म पढाउन स्नातक तह उत्तिर्ण अनि माध्यमिक तह अर्थात कक्षा १२ सम्म पढाउन स्नातकोत्तर तह उत्तिर्ण हुनुपर्ने भनिएता पनि ब्यवहारमा अझ सम्म लागु हुन सकेन । शिक्षक सेवा आयोगले बिगत झैं प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह भनेर स्थायीको लागि विज्ञापन गरि परीक्षा लिदैंछ । विषयगत शिक्षकका अभाव देखाएर सामाजिक विषय शिक्षकले गणित पढाउने स्थिति रहेसम्म शैक्षिक गुणस्तरका कुराले कुनै अर्थ राख्दैन । यो अन्य क्षेत्र र विषयका हकमा पनि लागु हुन्छ । काम चलेकै छ भन्नु र विषयगत विशिष्टिकरण गरेका जनशक्तिबाट सोहि काम हुनुमा आकाश जमिनकै अन्तर हुन्छ भन्दा अत्युक्ति नहोला । यहाँ पनि ज्याक अफ अल माष्टर अफ ननले काम गर्दछ भन्नै पर्दछ । Right man- Right Place भन्ने अंग्रेजी भनाई स्मरणीय र मननीय भन्ने उच्च नेतृत्व तथा सरकारी संयन्त्रहरुबाट ब्यवहारमा गरेर नदेखाए सम्म देश समृद्धिका कुरा कागजमै सिमित हुने तथ्य साबित भैसकेको छ ।

Exit mobile version