हेटौंडाः १ सय ८० किलो लागुऔषध गाँजासहित ३ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा–१६ का २९ बर्षीय बुद्धिमान वाईबा, २९ बर्षीय अर्जुन स्याङ्तान र ३० बर्षीय बिनोद पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिनुभयो ।
आइतबार बिहान ५ बजे ३० मिनेटको समयमा सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–७, चैनपुरबाट हेटौंडातर्फ आउँदै गरेको बा ७ च १६०६ नम्बरको पिक अप गाडीको सुरक्षाजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा फेला बरामद गरेको जनाइएको छ । उक्त लागुऔषध गाँजा, पिकअप गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिनुभयो ।
