Home मुख्य समाचार सानै उमेरमा प्रसुति गराउँदा किशोरीले गुमाइन् सन्तान

सानै उमेरमा प्रसुति गराउँदा किशोरीले गुमाइन् सन्तान

आशिका प्रजा

हेटौंडाः बागमती प्रदेशको मकवानपुर जिल्लामा २० वर्षभन्दा कम उमेरमा आमा बन्ने किशोरीहरुको संख्या उल्लेख्य रहेको छ । जिल्लाका विभिन्न पालिकामा चालु आर्थिक वर्षको हालसम्म ४ सय २९ जना किशोरीहरु आमा बनेका छन् ।

मनहरी गाउँपालिका वडा नं ३, कालिटारमा बसोबास गर्दै आएकी किशोरी आशिका प्रजाले हालै एक सन्तानलाई जन्म दिएकी छन् । उनी १७ वर्षकै उमेरमा आमा बन्न पुगिन् । उनले ३ किलो तौलको छोरालाई जन्म दिएकी थिइन् ।

सचेतनाको कमी र भौगोलिक विकटताका कारणले उनको घरमा नै प्रसुति गराउने प्रयास गरिएको थियो । घरमा प्रसुति गराउन कठिनाई भएपछि अस्पताल लैजाने क्रममा बाटोमा नै प्रसुति भएको बताइएको छ । बाटोमा प्रसुति भएपछि आमा र बच्चाको स्वास्थ्य अवस्था कमजोर भएका कारण दुबैलाई हेटौंडा अस्पताल लागिएको थियो ।

समयमा अस्पताल पु¥याउन नसक्दा उपचारको क्रममा शिशुको मृत्यु भएको आशिकाका श्रीमान अम्बरबहादुर प्रजाले बताए । आशिका १६ वर्ष र अम्बर १८ वर्ष हुँदा वैवाहिक जीवनमा बाँधिएको उनीहरुले बताए । आशिका भन्छिन्– ‘मैले समयमा नै उपचार नपाएर यस्तो भयो । मलाई थाहा थिएन, गाउँमा स्वास्थ्य चौकी छ भनेर ।’

भौगोलिक विकटत, शिक्षा र चेतनाको कमी र गरिबीको मुख्य कारणले बालविवाह हुने गरेको छ । बालविवाहका कारण धेरै किशोरीहरु सानै उमेरमा विवाह गरी आमा बन्ने क्रम पनि बढ्दै गएको छ ।

मकवानपुर जिल्लाको १० वटा पालिकामा नै बालविवाह गर्नेको संख्या धेरै रहेसँगै २० वर्ष नपुगी सुत्केरी हुनेको संख्या पनि बढी देखिएको छ । जिल्लाका ४ वटा पालिकामा मात्रै २० वर्ष उमेर नपुगी ४ सय २९ जना आमा बनेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाभित्रमात्र ३ सय ९० जना २० वर्ष नपुगी आमा बनेका हुन् ।

यस्तै स्वास्थ्य कार्यालय मकवानपुरको विवरणमा मकवानपुरमा चालु आर्थिक वर्षमा २० वर्षभन्दा कम उमेरका ७ सय ३९ जना महिलाले पहिलो पटक गर्भ जाँच गराएका छन् । जसमध्ये ४ सय २४ जना महिलाले चौथो महिनामा गर्भ जाँच गराएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । यस्तै ३ सय ६९ जनाले प्रोटोकलअनुसार चार पटक गर्भ जाँच गराएका र जसमध्ये स्वास्थ्य संस्थामा ३ जना नवशिशु मृत्यु भएको अवस्थामा जन्मिएको तथ्यांकमा उल्लेख छ ।

अञ्जना तामाङ

Exit mobile version