हेटौंडाः हेटौंडा–५, पिप्लेस्थित बालज्योति माविमा कक्षा १० मा अध्ययरत दृष्टिविहिन छात्र विशाल बस्नेत हेटौंडा–८, कमानेमा बस्नुहुन्छ । यस वर्ष एसईईमा सहभागी हुनुपर्ने विशाल विद्यालयमा भौतिक रुपमा उपस्थित हुन नसक्दा पनि नियमित पठनपाठन जारी राख्नुभएको छ । अधिकांश विद्यार्थी, शिक्षक, अभिभावकले भौतिकरुपमा पठनपाठन नहुँदा दुखी भइरहेका बेला विशाल र उनका साथीहरुलाई भने भौतिक उपस्थितिमा भन्दा अनलाइन कक्षामा अझ बढी प्रभावकारी भइरहेको महसुस गरिरहेका छन् ।
विशालसँगै कक्षा ९ मा अध्ययनरत विनय रानालाई पनि अनलाइन कक्षा प्रभावकारी लागेको छ । घरबाट आउन जान समस्या हुने गरेका दृष्टिविहिन विद्यार्थीले घरमै बसेर अनलाइनमार्फत नियमित कक्षामा सहभागी भइरहेका छन् । प्लान इन्टरनेशनल र सामुदायिक विकास संस्था (सिडिओ) नेपालको साझेदारीमा बालज्योति माविमा अध्ययनरत १० जना दृष्टिविहिन विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुनका लागि मोवाइल सेट सहयोग गरेको छ । मोवाइलमा टक–व्याग एप्लिकेसन डाउनलोड गरेर मोवाइलको सहजै प्रयोग गरिरहेको विद्यार्थीको भनाइ छ ।
विशाल बस्नेत भन्नुहुन्छ, ‘मोवाइल भएर अनलाइन कक्षामा सहभागी हुन र थप अध्ययन गर्न सहयोग पुगेको छ । हामीले मोवाइलको सदुपयोग गरिरहेका छौं । टक–व्याग एप्लिकेसन प्रयोग गरेर फोन चलाउँदा फोन, मेसेज चलाउँदा मेसेज भन्छ । सरहरुले पठाउनुभएको लिंक आएको आवाजमै सुनेर थाहा पाउँछौं । युट्युबबाट सुन्न सकिन्छ ।’ यस्तै विनय भन्नुहुन्छ, ‘युट्युवबाट रेकर्ड सुनेर पनि पढ्न सकिने, कक्षामा सहभागी हुन पनि सजिलो भएको छ । क्लास लिइरहेका छौं ।’
बालज्योति माविका दृष्टिविहिन शिक्षक प्रविण ग्वाछा पनि अनलाइन कक्षाका लागि दृष्टिविहिन विद्यार्थीले मोवाइल पाएर उपयोगी भएको बताउनुहुन्छ । विद्यालयका प्रधानाध्यापक भरत अर्याल भन्नुहुन्छ, ‘दृष्टिविहिन भाइबहिनीहरुले भौतिक रुपमा उपस्थिति हुँदा पनि श्रव्य माध्यमबाटै पठनपाठन गर्नुहुने हो । अहिले अनलाइनमा पनि उहाँहरुले श्रव्यमाध्यमबाटै घरमै बसेर पढ्न पाइरहनुभएको छ ।’
बालज्योति माविको आग्रहमा प्लान इन्टरनेशनलसँगैको साझेदारीमा सञ्चालित ‘सिकाई परियोजना’ अन्तर्गत नै विद्यार्थीलाई मोवाइलसँगै दृष्टिविहिन विद्यार्थीकै लागि खाना खाने टेबल, कुर्सी सहयोग गरिएको सामुदायिक विकास संस्था नेपालका कार्यक्रम संयोजक अर्जुन खड्काले जानकारी दिनुभयो । दृष्टिविहिन विद्यार्थीलाई अतिरिक्त क्रियाकलापको रुपमा वाद्यवादन कलाको विकास गर्न हार्मोनियम, मादल, गितार र पियानो पनि सहयोग गरिएको खड्काले बताउनुभयो ।
