Home अर्थ/व्यापार हेटौंडा उपमहानगरद्वारा पत्रकार पेन्सन कोषमा पाँच लाख सहयोग, १६४ जना पत्रकारको दुर्घटना...

हेटौंडा उपमहानगरद्वारा पत्रकार पेन्सन कोषमा पाँच लाख सहयोग, १६४ जना पत्रकारको दुर्घटना बिमा

हेटौंडाः नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालनमा ल्याएको ज्येष्ठ पत्रकार पेन्सन कोषमा हेटौंडा उपमहानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । पत्रकार महासंघले २० वर्ष काम गरेका ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक पेन्सन दिन कोष नै स्थापना गरेको हो ।

गत वर्षदेखि सञ्चालनमा ल्याएको कोषमा यसअघि पनि उपमहानगरले १० लाख रुपैयाँ सहयोग गरेको छ । गत वर्षदेखि महासंघ मकवानपुर शाखाले ज्येष्ठ पत्रकारलाई मासिक ४ हजार रुपैयाँ प्रदान गर्दै आएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरका शाखाका पूर्वअध्यक्ष समेत रहनुभएका नवराज शर्माले गत वर्षदेखि पेन्सन पाउनु भएको छ । महासंघ मकवानपुर शाखाले साधारणसभाबाट पेन्सन कोष सम्बन्धी कार्यविधि पारित गरेको छ ।

यसैगरी उपमहानगरले मकवानपुर जिल्लाका एक सय ६४ जना पत्रकारको पाँच लाख रुपैयाँका दरले दुर्घटना बीमा गरिदिएको छ । बीमा वापत तिर्नुपर्ने प्रिमियम रकम एक लाख २२ हजार २ सय ७० रुपैयाँ महासंघ मकवानपुरलाई चेक हस्तान्तरण गरिएको मेयर हरिबहादुर महतले बताउनुभयो । गत वर्षदेखि उपमहानगरले मकवानपुरका पत्रकारहरुका लागि दुर्घटना बीमा गर्न सुरु गरेको हो ।

Exit mobile version