Home समाज कोभिडले स्मारकमा पर्यटकका चहलपहलमा कमी

कोभिडले स्मारकमा पर्यटकका चहलपहलमा कमी

हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा रहेको पर्यटकीय स्थल शहीद स्मारकमा अहिले आन्तरिक एवम् बाह्य पर्यटकहरूको चहलपहलमा कमी आएको छ । कोभिड महामाहरी सुरु भएसँगै पर्यटकहरुको चहलपहलमा केही कमी आएको हो । समुदायबाट स्थापित एवम् सञ्चालित करिब २० हेक्टर क्षेत्रफलमा फैलिएको स्मारक क्षेत्र मकवानपुरकै एक महत्वपूर्ण गन्तव्य पनि हो ।

हेटौंडाबाट ७ किलोमिटरको दूरीमा रहेको शहीद स्मारकको २०५१ माघ १७ गते तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गर्नुभएको थियो । शहीद स्मारकमा अहिले दैनिक २ सयदेखि ३ सयसम्म आन्तरिक एवम् बाह्य पर्यटक घुम्न आउने गरेको स्मारक व्यवस्थापन समितिका टिकट बिक्रेता नवराज ढकालले बताउनुभयो । आन्तरिक र बाह्य पर्टटक आगमन हुने मुख्य सिजनमा पनि यतिबेला कोभिड महामारीले गर्दा पर्यटकको आगमन घटेको उहाँको भनाई छ ।

कोभिड महामारीभन्दा अगाडि स्मारकमा दैनिक १ हजारभन्दा बढी पर्यटक अवलोकनका लागि आउने गर्दथे । यस समयमा बढी मानिसहरु पिकनिक खान आउने भएपनि केही वर्षयता स्मारकमा आउने पर्यटक नै घट्न थालेको ढकालको भनाई छ । स्मारकमा सार्वजनिक बिदा र शनिबारका दिन भने पर्यटकहरु बढी आउने गर्दछन् । अहिले स्मारक प्रवेश गर्दा पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने जनाइएको छ । अनिवार्य मास्क लगाएर एकआपसमा भौतिक दुरी कायम गर्नुपर्नेछ ।

प्रतिव्यक्ति टिकटको शुल्क ५० रुपैयाँ, मोटरसाइकल पार्किङको २० रुपैयाँ, चारपाङ्ग्रे गाडीहरुलाई ५० रुपैयाँ लिने गरेको जनाइएको छ । टिकटबाट मासिक करिब ८ लाख बराबरको आम्दानी हुने गरेको छ । स्मारकमा २८ जना कर्मचारी रहेकोमा मासिक तलबमा मात्र ५ लाख रुपैयाँ खर्च हुने गरेको ढकालले बताउनुभयो ।

स्मारकमा नेपाली इतिहासको विभिन्न कालखण्डमा शहीद भएकाहरुको प्रतिमा हेर्न सकिनेछ । यस्तै शहीद ग्यालरी, आकर्षक शहीद स्तम्भ, दृश्यावलोकन टावर, चिडियाघर, स्वीमिङपुल र विभिन्न मनोरञ्जनात्मक खेलहरु रहेका छन् । यस्तै चित्तल, मृत, बेलायती मुसा, खरायो, बाँदर, मृग, गोही, चितुवालगायतका जन्तुहरु र मयूर, कालिज, परेवा, अस्ट्रिजलगायतका पक्षीहरुको अवलोकन गर्न सकिनेछ ।

Exit mobile version