Home मुख्य समाचार बागमती प्रदेशसभाको दुई समिति सभापति निर्वाचन, गठबन्धनको तर्फबाट उम्मेदवारी नरहने

बागमती प्रदेशसभाको दुई समिति सभापति निर्वाचन, गठबन्धनको तर्फबाट उम्मेदवारी नरहने

हेटौंडाः बागमती प्रदेशसभाको दुई वटा समितिको सभापति पदको निर्वाचन माघ १७ गते सोमबार हुँदैछ । सोमबार अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको रिक्त रहेको सभापति पदका लागि निर्वाचन हुन लागेको हो ।

प्रदेशसभा सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म दुबै समितिको सभापति पदका लागि प्रस्ताव दर्ता गर्ने समय तय गरिएको छ । तर दुबै समितिको सभापतिमा प्रदेश सरकारमा रहेका कुनै पनि दलहरुले उम्मेदवारी नदिने भएका छन् । गठबन्धनमा रहेका प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को संयुक्त बैठकले गठबन्धनमा रहेका कुनै पनि दलले सभापतिमा दाबी नगर्ने निर्णय गरेको नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेले जानकारी दिनुभयो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले सरकारमा रहेको गठबन्धनका कुनै पनि दलसँग छलफल नै नगरी निर्वाचनका मिति घोषणा गरेकाले सभापतिमा उम्मेदवारी नदिने निर्णय गरेको उहाँले बताउनुभयो । सभामुख सबै दलको साझा हुनुपर्नेमा एकतर्फी भएको उहाँको आरोप छ ।

दुबै समितिमा बहुमत सदस्य संख्या रहेको नेकपा एमालेले सभापति चयनका लागि छलफल गरिरहेको जनाएको छ । एमालेका प्रमुख सचेतक दीपक निरौलाले पार्टीको नेतृत्वगणको छलफल चलिरहेकाले आधिकारिक निर्णय आएपछि जानकारी गराइने बताउनुभयो ।
अर्थ तथा विकास समितिमा रहेका २२ जना सदस्यहरुमध्ये एमालेका ९ जना, माओवादी केन्द्रका ५ जना, नेपाली कांग्रेसका ४ जना, नेकपा समाजवादीका ३ जना र विवेकशील साझा पार्टीका एक जना प्रदेशसभा सदस्यहरु रहनुभएको छ । जसअन्तर्गत् समितिमा रहेका सदस्यहरुमध्ये हालको गठबन्धन सरकारमा नेकपा समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्रीसहित कांगे्रसका ३ जना, माओवादीका १ जना गरी ५ जना सदस्यहरु मन्त्री रहनुभएका कारण उहाँहरुको सदस्य पद रिक्त रहेको छ । जसकारण उहाँहरु निर्वाचनमा सहभागी हुन पाउनुहुन्न ।

यसर्थमा उक्त समितिमा गठबन्धनमा रहेका दलहरुका मात्र ७ जना सदस्य रहनुभएको छ भने एमालेबाट ९ जना सदस्य रहनुभएको छ । यस्तै विवेकशीलबाट एकजना सदस्यले सभापतिमा उम्मेदवारी दिन पाउनुहुनेछ । यसैगरी शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा १९ सदस्यमध्ये एमालेका ८ जना, कांग्रेसका ५ जना, माओवादीका ३ जना, नेकपा समाजवादीका २ जना र नेपाल मजदुर किसान पार्टीका १ जना प्रदेशसभा सदस्यहरु हुनुहुन्छ ।

जसअन्तर्गत् कांग्रेसका २ जना र नेकपा समाजवादीका २ जना गरी ४ जना सदस्यहरु हालको गठबन्धन सरकारको मन्त्री हुनुहुन्छ । जसकारण उक्त समितिमा हाल गठबन्धनबाट कुल ६ सदस्यहरुमात्र हुनुहुन्छ भने एमालेबाट ८ जना र नेमकिपाबाट १ जना सदस्य हुनुहुन्छ । यसकारण पनि दुबै समितिमा एमालेका सदस्यले सभापतिमा जीत हासिल गर्ने निश्चित देखिएको छ । दुबै समितिमा एमालेको बहुमत रहेकाले पराजित निश्चित भएर गठबन्धनले उम्मेद्वारी दिन नसकेको हुनसक्ने एमालेका प्रमुख सचेतक निरौलाले बताउनुभएको छ ।

Exit mobile version