Home समाज जिल्ला प्रशासनद्वारा केही सेवाहरु प्रदान गर्ने

जिल्ला प्रशासनद्वारा केही सेवाहरु प्रदान गर्ने

हेटौंडाः कोभिड–१९ संक्रमणका कारण जिल्ला प्रशासन कार्यालय मकवानापुरले बन्द गरेको कार्यालयबाट प्रवाह हुने सेवाहरुमा केही खुकुलो बनाएको छ । कार्यालयले शुक्रबार एक सूचना जारी गरी जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै सिमित कर्मचारीको उपस्थितिमा सिमित सेवाहरु प्रवाह गर्ने जनाएको हो ।

माघ १६ गते आइतबारदेखि राहदानीको लागि प्रत्यक्ष विवरण भर्ने कार्य गर्न आउँदा अनिवार्य अनलाइनबाट नै पूर्वअनुमति लिएरमात्र कागजपत्रसहित आउन कार्यालयले सूचित गरेको छ । साथै राष्ट्रिय परिचयपत्र बनाउन राहदानीको अनलाइनबाट नै पूर्वअनुमति लिएका व्यक्तिहरु मात्र सो सम्बन्धी कागजातसहित आउन पनि कार्यालयले जानकारी गराएको छ । यसैगरी नयाँ नागरिकता, प्रतिलिपि नागरिकतालगायतका अन्य सेवाहरुको सन्दर्भमा अत्यावश्यक परेका व्यक्तिहरु मात्र आवश्यक कागजातसहित सेवा लिन आउन निर्देशन दिइएको छ ।

कुनै कामको लागि एक हप्ताभित्रमा नागरिकतालगायतका कागजात प्रस्तुत गर्नुपर्ने कार्यलाई मात्र अत्यावश्यक मानिने सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । यसका लागि नागरिकता वा अन्य कागजात पेश गर्नुपर्ने कार्यालयबाट वा सम्बन्धित निकाय वा वडा कार्यालयबाट अत्यावश्यक रहेको लिखित पत्र पेश गर्नुपर्ने पनि उहाँले बताउनुभयो । यसैगरी कार्यालयको मुख्य प्रवेशद्वार बिहान साढे ९ बजेबाट मात्र खुल्ने भएकाले सो समयभन्दा अगाडि आएर भिडभाड नगर्न र कार्यालयमा सेवा लिन आउँदा अनिवार्यरुपमा खोप लगाई खोप कार्डसमेत लिई अन्य जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्र कार्यालयमा प्रवेश गर्न अनुरोध गरिएको छ ।

Exit mobile version