Home मुख्य समाचार कोरोना संक्रमणको असरः जिल्ला अदालतको सेवा प्रवाहमा कटौती

कोरोना संक्रमणको असरः जिल्ला अदालतको सेवा प्रवाहमा कटौती

हेटौंडाः कोरोना भाइरस संक्रमण पुनः फैलिएर असहज परिस्थिति उत्पन्न भएको भन्दै मकवानपुर जिल्ला अदालतले नियमित सेवा प्रवाहमा कटौती गरेको छ । जिल्ला अदालतका निमित्त श्रेस्तेदार अमृत घिमिरेले बिहीबार एक सुचना जारी गर्नुहुँदै अदालतका कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएकोले माघ ९ गतेदेखि १४ गतेसम्मको सेवाप्रवाह कटौती गरिएको जानकारी दिनुभएको छ ।

अदालतको बिहीबार बसेको पूर्ण बैठकबाट माघ ९ गतेदेखि १४ गतेसम्म पक्राउ पुर्जी अनुमती, जरुरी पक्राउ पुर्जीको समर्थन र कल डिटेल अनुमती दिने कार्यहरु, पक्राउ परेका व्यक्तिहरुलाई हिरासतमा राख्ने अनुमती (म्याद थप) गर्ने कार्य, अभियोग पत्र दर्ता गर्ने, उपस्थित प्रतिवादीको बयान लिने र थुनछेक गर्ने कार्य हुने जनाएको छ । यसअघि सर्वोच्च अदालतको माघ ४ गतेको पूर्ण बैठकको निर्णयबाट स्थानीय परिस्थिति एवम् जोखिमको अवस्था तथा संक्रमित भएकोअवस्था समेतको मूल्याङ्कनको आधारमा उपयुक्त देखिएको कामकारवाही र सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालतले मिलाउने भनी निर्देशन दिएको थियो ।

यसैगरी मुद्दा मिलापत्र, फिर्ता र डिसमिस सम्बन्धी कार्य, मुलुकी फौजदारी कार्यबिधी संहिता २०७४ को दफा १५५ अनुसारको निवेदन तथा बाल सुधार गृहमा रहेका बालबालिका जिम्मा लिन पाउँ भन्ने निवेदनका कार्यमा मात्र अदालतको कामकारवाही हुने पनि सुचनामा उल्लेख गरिएको छ । सेवा संकुचन गरिएको अवधीमा रोकिएको तारेख, हदम्याद, म्याद समेतको हकमा प्रचलित कानून बमोजिमका सेवा प्राप्त हुने निमित्त श्रेस्तेदार घिमिरेले बताउनुभयो ।

Exit mobile version