Home मुख्य समाचार कांग्रेस प्रदेश सभापतिमा जित पक्का छः जगदिश्वर सिंह केसी

कांग्रेस प्रदेश सभापतिमा जित पक्का छः जगदिश्वर सिंह केसी


हेटौंडाः नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा लगभग जित पक्का भएको प्रदेश सभापतिका उम्मेदवार जगदिश्वर सिंह केसीले बताउनुभएको छ । उहाँले आफुले विवेक र निष्ठाको मत प्राप्त गर्ने बताउनुभयो । कांग्रेस बागमती प्रदेशको शनिबार भएको मतदानमा ३ जना उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि आज इन्द्र बानियाँ र केसी बिच पुनः मतदान भइरहेको छ ।

यस्तै शनिबार भएको निर्वाचनमा तेस्रो हुनुभएको भीमसेन प्रधान दासले भने इन्द्र बानियाँको लागि आज मत माग्दै प्रतिनिधिसँग पुग्नुभएको छ । आज दिउँसो साढे १ बजेबाट सुरु भएको मतदान प्राविधिक कारणले ढिलाई भइरहेको छ । मत हाल्ने मतदाताहरु रिसाएका छन् । उनीहरुले प्रतिनिधिलाई प्रहरीले मत खसाल्ने ठाउँसम्म जान दिएका छैनन् । ३० जनाको दरले प्रहरीले लाइनबाट मत हाल्न पठाउने कोसिस गरेपनि मतदाताहरुलाई सम्हाल्न प्रहरीलाई हम्मे परिरहेको छ ।

यस्तो अवस्थामा पनि केसीले बानियाँ भन्दा आफु कांग्रेसका निष्ठा, आदर्श र सैद्धान्तिक आधारको चुरो भएको बताउनुभयो । विपीले प्रतिपादन गरेको समाज, राजनैतिक विचार आफुसँग भएको भन्दै केसीले अर्का साथी धन र बलको आधारमा, पैसा/शक्तिको आडमा मैदानमा आएको बताउनुभयो । यहाँ २० करौड लगानी गरेको भन्दै केसीले आस्था र निष्ठाको प्रतिबिम्ब को हो उसैलाई मत दिन आग्रह गर्नुभयो । उहाँले सबै प्रतिनिधिलाई विवेकको मत दिन भन्नुभएको छ । यहाँ त डर, त्रास र धम्की देखाइएको छ । डर त्रास र धम्ककीको मतदान नगर्न उहाँले आग्रह गर्नुभयो । हरेक मतदातालाई धम्काइएको भन्दै केसीले मतदातालाई विभिन्न प्रलोभन देखाएपनि मतदाताले स्वःविवेकको मत खसाल्ने धारणा राख्नुभयो ।
शनिबार भएको मतदानमा बलजफत २ सय मत बानियाँको पक्षको प्रतिनिधिले आफ्नो नाममा चिन्ह लगाएको केसीले बताउनुभयो । आज भएको दोस्रो चरणको मतदानमा त्यो कम भएको भन्दै आफ्नो विजय लगभग पक्का भएको दाबी गर्नुभयो ।

उहाँले बानियाँलाई समर्थन गर्नुभएको भिमसेन प्रधानप्रति कुनै टिप्पणी गर्न चाहनुभएन । ‘उहाँ आदर्शको प्रतिक हो । कुन राजनीतिक बलजफतीमा पर्नुभयो कसले के भन्यो आफ्नो ठाउँमा छ । उहाँले भनेको मत उता जादैन यो विवेकको मत मलाई नै आउँछ ।’ केसीले भन्नुभयो । हेटौंडाको फरेष्टि क्याम्समा भएको कांग्रेसको प्रदेश अधिवेशनमा भाग लिन आएका अपाङ्ग अर्जुन दुलालले आफुले आफ्नै विवेक प्रयोग गरेर मतदान गरेको बताउनुभयो ।

यस्तै काठमाडौंका गणेश बहादुर सुवेदीले भने स्टेचरमा मतदान स्थलमा पुगेर आफ्नो मत खसाल्नुभएको छ । शनिबार भएको मतदानस्थलमा लडेर खुट्टा पयाक्चर भएका सुवेदीलाई चार जनाले स्टेचरमा बोकेर ल्याएका थिए । यस्तै १ घण्टाबढी लामो समय लाइनमा उभिएर बस्नुपरेको भन्दै कांग्रेस प्रदेश प्रतिनिधि बनेर आएकाहरुले उचित व्यवस्थापन नभएको गुनासो गरे । शनिबार मतदान सम्पन्न भइसके पनि पुनः मतदान गर्नुपरेको, तेस्रो हुुनेले पहिलो हुनेलाई समर्थन गरेकोले स्वत दोस्रो हुनेले छोड्नुपर्ने बताउनुहुन्छ चितवनका कांग्रेस नेतृ लक्ष्मी लामिछाने ।

कांग्रेसको प्रदेश सभापतिको लागि अहिले साँझ ५ बजेसम्म मतदान समय तोकिएको छ । ५ बजेपछि क्याम्पस हाताको मुल गेट बन्द गरिने निर्वाचन समितिका सदस्य होमराज नेपालले बताउनुभयो । साँझ ५ बजेपछि भने मतदान स्थलमा भएकाहरुले मात्र मत खसाल्न पाउँनेछन् । ५ वटा मतदान स्थल बनाएर १३ जिल्लाका प्रतिनिधिहरुले मत अहिले खसालिरहेका छन् ।

Exit mobile version