Home मुख्य समाचार कार्यदलद्वारा प्रदेश सरकारको नीति तथा कार्यक्रमको प्रस्ताव पेश

कार्यदलद्वारा प्रदेश सरकारको नीति तथा कार्यक्रमको प्रस्ताव पेश

बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदल संयोजक युवराज दुलाल बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई न्यूनतम साझा कार्यक्रमको प्रस्ताव बुझाउनुहुँदै । फाइल तस्वीर ।

हेटौंडाः बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई बागमती प्रदेश सरकारको न्युनतम साझा कार्यक्रम–२०७८ को प्रस्ताव बुझाएको छ । कार्यदलका संयोजक युवराज दुलालले बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई न्यूनतम साझा कार्यक्रमको प्रस्ताव बुझाउनुभएको हो ।

प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रमको प्रस्ताव बुझाउनुअघि प्रस्तावका बारेमा जानकारी गराउनुहुँदै बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदल संयोजक युवराज दुलाल ।

संघीय सरकारको सिको गर्दै बागमती प्रदेशको गठबन्धन सरकार सञ्चालनमा समन्वय गर्न नेकपा माओवादी केन्द्रका नेता, बागमती प्रदेश सभाका सदस्य एवम् पूर्वमन्त्री युवराज दुलालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले संयुक्त सरकारका ७ वटा प्राथमिकताको सूचिसहित ६ वटा शीर्षकमा नीति तथा कार्यक्रम प्रस्ताव गरेको छ । कार्यदलले पेश गरेको प्रस्तावमा कोभिड–१९ बाट प्रदेशका नागरिकको जीवन रक्षा गर्नु, कानूनी राज्य र सुशासनको प्रत्याभूति दिलाउनु, संघीयताको कार्यान्वयनका लागि प्रदेश सरकारको अधिकारको प्रयोग र स्थानीय तहका अधिकार हस्तान्तरण गर्नु, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा नागरिकको पहूँच स्थापित गर्नु नीति तथा कार्यक्रमको प्राथमिकता हुनुपर्ने कार्यदलले प्रस्ताव गरेको छ ।

यस्तै कृषि र उत्पादनमुखी अर्थतन्त्रमा जोड, आपूर्ति व्यवस्थापनमा सुधार, महंगी नियन्त्रण तथा भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अबलम्बन गर्नु, कोभिड–१९ बाट प्रभावित विपन्नलाई लक्षित कार्यक्रम सञ्चालन गर्नु र प्राकृतिक विपत्तिमा परेका जनतालाई राहत दिने गरी नीति तथा कार्यक्रमको प्राथमिकतामा पर्नुपर्ने सुझाव रहेको छ । कार्यदलले पेश गरेको सुझाव ग्रहण गर्नुहुँदै मुख्यमन्त्री राजेन्द्र पाण्डेले कार्यदलको सुझावकै आधारमा केही दिनमै नीति तथा कार्यक्रम सार्वजनिक गरिने बताउनुभयो ।

Exit mobile version