Home मुख्य समाचार बागमती प्रदेशमा ४ मन्त्रीले १३ जिल्ला हाँक्दै

बागमती प्रदेशमा ४ मन्त्रीले १३ जिल्ला हाँक्दै

मुख्यमन्त्रीको कार्यालय ।

हेटौंडाः बागमती प्रदेशमा ४ जना मन्त्रीले प्रदेशको १३ जिल्लाको नेतृत्व गर्दै आएका छन् । बागमती प्रदेशमा केन्द्रीय गठबन्धनको निर्णय अनुसार मुख्यमन्त्री बन्नुभएका राजेन्द्र पाण्डेले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताउनु भएपनि ढिलाई हुने देखिएको छ । कात्तिक ११ गते गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएको पाण्डेले ११ दिनमै विश्वासको मत समेत प्राप्त गरिसक्नुभएको छ ।

बागमती प्रदेशमा अहिले मुख्यमन्त्रीसहित ४ सदस्यीय मन्त्रिमण्डल रहेको छ । प्रदेशको ८ मन्त्रालय मध्ये चार वटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त गरिएको छ । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफू मातहत राख्नुभएको छ । यस्तै सामाजिक विकास मन्त्रीमा माओवादीका कुमारी मोक्तान, भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेसका कृष्णलाल भँडेल र समाजवादीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनाल रहनुभएको छ ।

मुख्यमन्त्रीसहित ४ मन्त्रीले बागमती प्रदेशको १३ जिल्लामा आफ्नो कामहरु अघि बढाइरहेका छन् । मन्त्रीपरिषद्ले पूर्णता नपाउँदा प्रदेशले विकासको योजनाहरु अघि बढाउन सकेको छैन । बागमती प्रदेशमा झण्डै साढे तीन वर्ष डोरमणि पौडेलले नेतृत्वको पछि करिब अढाई महिना अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्नुभयो ।

प्रदेशमा गठबन्धनसँग मन्त्रिपरिषद् विस्तारका लागि छलफल भइरहेको सरकारका प्रवक्ता कृष्ण खनालको भनाई छ । ‘बागमती प्रदेशमा ८ वटा मन्त्रालय रहेको छ । मन्त्री बन्ने आकांक्षा धेरैले गर्नुभएको छ ।’ उहाँले भन्नुभयो । पहिलेको भन्दा मन्त्रिमण्डल धेरै हुने यसअघि नै मुख्यमन्त्री पाण्डेले संकेत गर्नुभएको छ । बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलले ७ मन्त्रालय मार्फत सबै कामहरु गर्नुभएको थियो । त्यसपछि मुख्यमन्त्री बन्नुभएका अष्टलक्ष्मी शाक्यले आफू निकट सांसदलाई मन्त्री बनाउन सामाजिक विकास मन्त्रालयलाई फुटाएर स्वास्थ्य मन्त्रालय थप गर्नुभएको थियो ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेले पनि अब गठबन्धनको सांसदहरुलाई मन्त्री बनाउन मन्त्रालय फुटाएर थप गर्नुपर्ने बाध्यता बनेको छ । उहाँले गठबन्धनका दलहरुसँग मन्त्रीहरुको नामावली माग गर्नुभएको तर मन्त्रालयको टुंगो नलागेसम्म मन्त्रीको नामावली नपठाएको एक नेताले जानकारी दिनुभयो । बागमती प्रदेशमा गठबन्धनको तर्फबाट ४/४ जना फुल मन्त्री पाउने गरी छलफल भइरहेको छ । हालसम्म मन्त्री बन्ने चर्चा चलेपनि टुंगोमा नपुगेको माओवादी बागमती प्रदेशको प्रमुख सचेतक बुद्धिमान माझीले बताउनुभयो । उहाँका अनुसार केन्द्रको गठबन्धनको निर्णय नआएसम्म मन्त्री कति पाउने टुंगो नभएको बताउनुभयो । मन्त्रालयको टुंगो लागेसँगै मन्त्रीहरुको नामावली सार्वजनिक गरिने उहाँको भनाई छ ।

बागमती प्रदेशमा रहेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई फुटाएर २ वटा पर्यटन र वन तथा वातारण मन्त्रालय बनाउने तयारी छ । यस्तै भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालयलाई टुक्राउने तयारी रहेको स्रोतले बताएको छ । गठबन्धनलाई भाग लगाउन प्रदेशमा मन्त्रीपरिषद् जम्बो बन्ने भएको हो । मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालय फुटाएर जम्बो बनाउने मेसो पाएलगत्तै विवेकशील साझा, नेमकिपा लागयतको साना दलहरुले आफ्नो समर्थन पाण्डेलाई दिएका छैनन् । विवेकशील साझाको सांसद रमेश पौडेलले जम्बो मन्त्रीमण्डल बनाउँदा प्रदेश सरकारले फजुल खर्च गर्ने र सुशासन कायम गर्न नसक्ने दाबी गर्नुभएको छ ।

Exit mobile version